मनहरीमा ‘बृहत सास्कृतिक कार्यक्रम’ गरि ल्होछार मनाइयो

तु खबर संवाददाता
२०७४ फाल्गुन ७, सोमबार १२:५३

-दिलबहादुर लामा
मनहरी, ७ फागुन ।
मकवानपुरको पश्चिमी क्षेत्रको केन्द्र मनहरीमा सोनाम ल्होछार बिबिध कार्यक्रम गरि मनाइएको छ । तामाङ समुदायको महान राष्ट्रिय पर्ब मन्जुश्री सम्बत २८५४ खी ल्हो (कुकुर बर्ग) सोनाम ल्होछारको अबसरमा शनिबार ’ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम’ सम्पन्न भएको हो ।

‘सोनाम ल्होछारको प्रबर्दन, हाम्रो सास्कृतिक अभियान । तामसालिङ प्रदेशको स्थापना, राष्ट्रको साझा पहिचान ।’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पूर्वराज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम ल्होछार मूल समारोह समितिको कार्यक्रम संयोजक जानकी लामाको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा बोल्दै पूर्व कानुनी राज्यमन्त्री पाख्रिनले नेपाल बिबिधता युक्त देश भएको बताउँदै तामाङ जातिको राष्ट्रिय पर्ब सोनाम ल्होछार भएकोले भ्रममा नपर्न आग्रह गरे । ’हरेक क्षेत्रमा हामी पछाडी परेका छौँ , किनभने हामीलाई राज्यसत्ताले शोषण र दमन गरेको छ । अब खोजीनिती गरेर लाग्नु पर्छ । हाम्रो छुट्टै पहिचान छ ।’ उनले भने । भेषभुषा, भाषा, समानुपातिक समाबेशी, धर्म सँस्कृति पहिचान आएपछि यसलाइ राज्य सत्ताको कानुनमा मान्यता दिनुर्ने उनले जिकिर गरे ।

बेलुका साढे ७ बजे मात्र स्टेजमा तामाङ सेलो पपको चर्चित गायक रोज मोक्तान देखापरेपछि कार्यक्रमको रौनकता थपियो । उनले आधा दर्जन गीत गाएर दर्शकलाई नचाए । गायक मोक्तानले चर्चित गीतहरु आँखाको रमझम…., कलकते काँइयो…, झिम्काइ देउ परेली.., रातो रातो गाला…, लगयतको आधा दर्जन गीत प्रस्तुत गरेका थिए ।

त्यस्तै चर्चित गायक तथा संगीतकार विश्व दोङले नेपाली सेलो तथा तामाङ गीत प्रस्तुत गरेका थिए । गायक दोङ्ले कादे ज्याबा ह्याङ्ला दाङ्बो ला ठिम…., बोन्बो से खाड्कु थासै नुन…, माथि माथि लेकमा…, घुम्नको जाँदा…, पञ्चेबाजा बजाउँदै….जस्ता नेपाली र तामाङ भाषामा रहेको गीत प्रस्तुत गरि दर्शक नचाएका थिए ।

अर्की चर्चित गायिका शशिकला मोक्तानले के लाग्यो बोन्पो…, नाचू नाचू…, नाचिदेउ दुईपाइला जस्ता लोक सेलोहरु प्रस्तुत गरेकी थिईन् । साथै स्थानीय कलाकारहरु अविराम मोक्तान, सुन्दर लामा, रबिन कुमार चेपाङ, तामाङ सास्कृतिक घेदुङ मकवानपुरले डम्फु बजाई सेलो र दोहोरी गीत प्रस्तुत गरेका थिए । त्यस्तै आस्था कला केन्द्र मनहरी र जिके डान्स ग्रुप भण्डाराको कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङको केन्द्रिय अध्यक्ष मोहन गोले तामाङ, धर्म गुरु खेन्पो सोनाम ग्युर्मे तामाङ, प्रदेश सभा २ (ख) को संसदद्वय ओम घलान(प्रदिप) र सन्तबहादुर चेपाङ, पूर्वसांसद राजाराम स्याङ्तान, कैलाश गाउँपलिकाका अध्यक्ष टंक मोक्तान, मनहरी गाउँपलिका अध्यक्ष एकराज उप्रेती, वडा अध्यक्षहरुको तर्फबाट मनहरी–७ का वडा अध्यक्ष ठाकुर तितुङ लगायतका अतिथिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा मकवानपुर प्रदेश सभा २ को (ख) अन्तर्गत तामाङ समुदायबाट प्रदेश सभा सदस्य संसद ओम घलान (प्रदिप) लाई सम्मान पत्रबाट सम्मान गरिएको थियो । त्यस्तै स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधि कैलाश गाउँपलिका अध्यक्ष टंक मोक्तान, उपाध्यक्ष सुकुमाया थिङ र राक्सिराङ गाउँपालिकाको उपाध्यक्ष निर्मला हिम्डुङ लगायत मनहरी, कैलाश र राक्सिराङ गाउँपलिकाको वडा अध्यक्षहरुलाइ सम्मान गरिएको थियो । साथै एसइइ परीक्षामा ए प्लस ल्याएका मनहरी–७ का निमा वाइबालाइ समेत सम्मान गरिएको थियो ।

मनहरी बजारको बसपार्कमा भएको कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा बृहत साँस्कृतिक कार्यक्रम गरी धुमधामसँग मनाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*