भदौमा बैंक ब्याजदर थप घट्यो

तु खबर संवाददाता
२०८२ भाद्र १, आईतवार १०:३९

काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको जानकारीअनुसार साउन महिनाको तुलनामा भदौमा औसत ब्याजदर अझै घटेको छ।

साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ५.६९ प्रतिशत ब्याज दिइरहेका बैंकहरूले भदौमा घटाएर ५.५७ प्रतिशत पुर्‍याएका छन्। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा साउनमा ४.११ प्रतिशत रहेको अधिकतम औसत ब्याजदर भदौमा झरेर ३.९६ प्रतिशतमा पुगेको छ।

२० वाणिज्य बैंकमध्ये ८ वटाले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने एक बैंकले मात्र बढाएको छ। स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैंकले ब्याजदर घटाएका हुन् भने प्रभु बैंकले भने बढाएको छ।

साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.२६ प्रतिशत ब्याज दिने स्ट्याण्डर्ड चार्टर्ड बैंकले भदौमा घटाएर ५.१३ प्रतिशत पुर्‍याएको छ। यता प्रभु बैंकले भने १.१ प्रतिशतविन्दुले वृद्धि गर्दै ५.३५ प्रतिशत ब्याज दिने भएको छ।

व्यक्तिगत मुद्दति निक्षेपमा भदौ महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा बढी ६.२५ प्रतिशत ब्याज दिने भएको छ भने लक्ष्मी सनराइज बैंकले सबैभन्दा कम ५ प्रतिशत ब्याज दिनेछ।

संस्थागत मुद्दति निक्षेपमा ७ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् भने कुनै पनि बैंकले बढाएका छैनन्। यस श्रेणीमा औसत ब्याजदर ०.१५ प्रतिशतविन्दुले घटेको छ।