किशोरीहरुको उज्ज्वल जीवनको निर्माणमा सघाउ पुराउन १७ जना सहजकर्ता गाउँगाउँमा
मकवानपुर, ३ फागुन । मकवानपुर र रौतहटमा किशोरीहरुको उज्ज्वल जीवन निर्माणका लागि सघाउ पु¥याउने सहजकर्ता तयार पार्न आयोजना गरिएको तालिम समापन भएको छ । बाल कल्याण समाज मकवानपुर र सोडेक नेपाल रौतहटको संयुक्त आयोजना तथा प्लान इन्टरनेशल नेपाल मकवानपुरको सहयोगमा रौतहटका १० जना र मकवानपुरका ७ जनालाई सहजकर्तालाई प्रदान गरिएको सहजीकरण पुनर्ताजगी तालिम समापन भएको हो ।
तालिम प्राप्त गरेर आफ्नो कार्यक्षेत्रमा फर्किएका सहजकर्ताले अब किशोरीको उज्ज्वल भविष्य बनाउने विषयमा सहजीकरण गर्नेछन् । तालिम समापन बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाको अध्यक्षता तथा प्लान इन्टरनेशनल मकवानपुरका कार्यक्रम इकाई प्रबन्धक नेत्रप्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा भएको हो ।
समापनमा बोल्दै प्रमुख अतिथी उपाध्यायले तालिम प्राप्त गरेका किशोरी सन्देशबाहकका रुपमा लागिपर्नु पर्ने बताए । आफ्नो गाउँ समाजमा आइपर्ने किशोरीका विभिन्न समस्या समाधानका लागि सहजीकरण गर्ने कार्यमा भूमिका खेल्ने भएकाले समाजमा महत्वपूर्ण भूमिका हुने बताए । यस्तै, प्लान मकवानपुरकै लैङ्गिक एवम् बालअधिकार संयोजक राम खत्रीले पनि किशोरीको भविष्य निर्माण गर्नका लागि ‘उज्ज्वल जीवनको छनौट’ कार्यक्रम प्रभावकारी बनिरहेको आफूले सुन्दा खुशी लागिरहेको बताए । किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्य तथा सचेतना, बालअधिकार, महिला अधिकारका लागि कार्यक्रमको महत्वपूर्ण भूमिका समाजमा रहेको बताउँदै उनले किशोरीको जीवनको लक्ष्य पहिचान गर्दै लक्ष्यमा पुग्नका लागि आवश्यक योजना बनाउँने कार्यका लागि कार्यक्रम प्रभावकारी बनिरहेको बताए ।
बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक कमल फुयालले समग्रमा किशोरावस्थाबाट एउटी किशोरीलाई जीवनको सही बाटोमा लैजानका लागि उज्ज्वल जीवनको छनौट आवश्यक भएको बताए । उनले तालिम पाएका सहजकर्ताले किशोरीमा सुरक्षित जीवनशैली र राम्रो स्वास्थ्य, सकारात्मक विचार, असल मार्ग, अन्तर व्यक्ति सम्बन्ध र मित्रता कायम गर्न, किशोरीहरुलाई सहकारी बचत तथा आयआर्जन, बाल विवाह रोक्न समुदायमा भूमिका निर्वाह गर्नेमा जोड दिए ।
तालिममा मकवानपुरको हेटौंडा उपमहानगर पालिका १३ पदमपोखरी, हेटौंडा १५, चुरियामाई, कैलाश गाउँपालिका वडा नम्बर ९, नामटार, मनहरी ४, मसिने, मनहरी गाउँपालिका ३, सुनाचुरी, थाहा नगरपालिका ३, दामन, थाहा नगरपालिका २, पालुङका सहजकर्ता सहभागी बनेका थिए ।
यस्तै, रौतहटको चन्द्रपुर नगरपालिकाको १, २, ६, ७, ९ र १० नम्बर वडाका सहजकर्ता सहभागी बनेका थिए । तालिम समापनमा सोडेक नेपालका सदस्य रामपुकार यादवले किशोरावस्थामा आउँने विभिन्न समस्याबाट बेलैमा जानकारी प्रदान गरी गलत मार्गमा लाग्नबाट बचाउँनका लागि उज्ज्वल जीवनको छनौट परियोजनाले प्रभावकारी भूमिका खेलिरहेको बताए ।
तालिमकी सहभागी थाहा नगर, पालुङकी सरस्वती केशीले तालिमबाट आफूले आफूले पाएको किशोरीको जीवनमा आइपर्ने विभिन्न खालका समस्या समाधानका शिप प्रयोग गर्नका लागि गाउँठाउँमा किशोरीलाई सहजीकरण गर्ने बताइन् । यस्तै, तालिममा सहभागी रौतहटकी भुलकुमारी फुयालले पनि आफ्नो क्षेत्रमा अनेक समस्यामा रहेका किशोरीका समस्या समाधान गर्नका लागि उज्ज्वल जीवनको छनौट नामक किशोरी शिक्षाले भूमिका खेलिरहेको बताइन् । अब आफूले सिकेका विभिन्न जीवनोपयोगी शिप किशोरीको जीवन उज्ज्व बनाउँने काममा लगाउने उनले बताइन् ।
मकवानपुरमा उज्ज्वल जीवनको छनौट कार्यक्रम सञ्चालन गरिरहेको संस्था बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा किशोरीको जीवनशैलीदेखि भोलीको सक्षम अभिभावक, नागरिक तयार पार्नका लागि यो कार्यक्रम आवश्यक रहेको बताए । किशोरावस्थामा आइपर्नसक्ने विभिन्न जोखिमबाट मुक्ति दिनका लागि उज्ज्वल जीवनको छनौट कार्यक्रम प्रभावकारी बनेको विगतको कार्यानुभवले बताएकाले यस खालको कार्यक्रमको आवश्यकता रहेको उनको भनाई छ ।
