मकवानपुरे मिडियाको दयालाग्दो अवस्था, ‘ईज्जत जोगाउने कि मिडिया ?’
-केही मिडिया संचालकहरुले अहिले पनि ३–४ हजार तलबमै रेडियोमा कार्यक्रम चलाउने र पत्रिकामा काम गर्ने मान्छे पाईन्छ भन्ने सोचेर भुल गर्छन् । तर मकवानपुरमा गिर्दै गएको मिडियाको ईज्जत र आर्थिक अभावलाई बुझ्दैनन् ।
-रेडियोमा बोल्ने, पत्रिकामा कलम चलाउने तर फ्यानहरुको जोवन गलाउनेसम्मका पत्रकारहरुको नालीबेली पनि बेलाबेलामा समाचार नै बन्ने गरेको छ ।
– मकवानपुरमा भएका अधिकांश एफ.एम. रेडियोहरु मेरो विचारमा खासमा एफ.एम. रेडियो होईनन् ती रेडियोहरु सिडी प्लेयर हुन् जो जत्तिखेर पनि गीतमात्रै बजाईरहन्छन् ।
-चन्द्र घलान
मकवानपुर, ३ फागुन । कुनै पनि स्थानको विकासको लागि संचारको ठूलो भूमिका हुन्छ । वर्तमान समयमा संचारको महत्व अझ वृद्धि भएको छ । मकवानपुरमा पनि जिल्लाको पहिलो एफ.एम. स्टेसनका रुपमा मनकामना एफ.एम.संचालनमा आएपछि पत्रपत्रिकामा मात्र सिमित मकवानपुरले संचार क्षेत्रमा ठूलो फड्को मारेको थियो । जिल्लामा एउटै मात्र रेडियो भएकोले उक्त एफ.एम.ले निकै नाफा कमाउन सफल भएको थियो । मनकामना एफ.एम.बाटै करियर सुरु गरेका चर्चित अनुहारहरु आज राष्ट्रिय मिडियाहरुमा कार्यरत छन् ।
तर समयक्रम फेरिएसँगै अहिले मकवानपुरमा मिडियाको स्तर खस्किँदै गएको छ । अझ भनौँ मकवानपुरमा मिडियाहरुको अवस्था दयालाग्दो छ । मकवानपुरमा अहिले किन मिडिया खोल्ने र कसका लागि खोल्ने भन्ने यकिन नै नगरि धमाधम खोलिएको एफ.एम. स्टेसनहरुले खासै उन्नत्ति गर्न सकेका छैनन् अनि समाजमा परिवर्तनको लागि सिंको पनि भाँच्न नसक्ने अवस्थामा छन् । पछिल्लो समय अनलाईनको बाढी नै आएपछि रेडियोलाई थप असर परेको छ ।
एफ.एम. स्टेसन डुबिरहेकै बेला पछिल्लो समय नयाँ रेडियो खोल्न र दर्ता गर्न कतिपय नयाँ र मिडियामा आएर एक दशक पनि नभएका पत्रकारहरुको समूह सक्रिय भएर लागेको अवस्था पनि छ ।
मकवानपुरमा अहिले हेटौँडा एफ.एम., रेडियो मकवानपुर, रेडियो थाहा संचार, रेडियो पालुङ, रेडियो शक्ति एफ.एम. मनहरी एफ.एम. , केही महिनादेखि संचालनमा आएको रेडियो अनमोल, रेडियो निकास, रेडियो आवाज, रेडियो सरोबर, रेडियो आकाशगङ्गा गरि १० ओटा एफ.एम. संचालनमा छन् । तर यी एफ.एम. स्टेसनले विभिन्न समस्याहरु भोगिरहेका छन् ।
जिल्लाको पहिलो एफ.एम. मनकामना एफ.एम., नेशनल एफ.एम., प्रतिध्वनी एफ.एम. र रेडियो कलश अहिले बन्द भइसकेको छ । यी एफ.एम. स्टेसन डुबिरहेकै बेला पछिल्लो समय नयाँ रेडियो खोल्न र दर्ता गर्न कतिपय नयाँ र मिडियामा आएर एक दशक पनि नभएका पत्रकारहरुको समूह सक्रिय भएर लागेको अवस्था पनि छ ।

चन्द्र घलान
जिल्लामा थप रेडियो हुनुहुँदैन भनेर बुझेका अग्रजहरु भने रेडियो खोल्नतिर लागेका छैनन् । उनीहरु भएका मिडियालाई कसरी जोगाउने र कसरी उपयुक्त सामाग्री पत्रपत्रिका, अनलाईन र रेडियोबाट प्रकाशन, प्रसारण गर्ने भन्ने सोचमा छन् ।
मकवानपुरमा एफ.एम.रेडियो मात्र नभई अहिले दैनिक पत्रिकाहरु पनि विभिन्न समस्यामा परेका छन् । मकवानपुरमा हेटौँडा सन्देश, साझाकुरा, समृद्ध समाज, प्रदेश, थाहा सन्देश, शान्तिपुर जस्ता दैनिकहरु नियमित प्रकाशनमा छन् । हेटौँडा टुडे र नारायणी दैनिकको प्रकाशन रोकिएको छ ।
मकवानपुरमा धेरै साप्ताहिक पत्रिकाहरु वर्गीकरणमा पनि परेका छन् । तर अधिकांश साप्ताहिकहरु बजारमा देखिँदैनन् । ती साप्ताहिकहरु प्रकाशन नै नभएका हुन् वा बजार व्यवस्थापन गर्न नसकेका कारण बजारमा नदेखिएका हुन् त्यसको सत्यता प्रकाशक र सम्पादकलाई मात्र थाहा छ ।
‘मकवानपुरमा मिडिया खस्कनुका कारणहरु र देखिएका समस्याहरु’
आवश्यकता भन्दा बढी मिडिया र अस्वस्थ प्रतिस्पर्धा
मकवानपुरमा बजार सिमित भएको कुरा सबै मिडिया संचालकहरुलाई थाहा छ । तर पनि यहाँ मिडिया थप्ने क्रम रोकिएको छैन । अहिले पनि मकवानपुरमा १० वटा एफ.एम. रेडियो, ६ वटा दैनिक र विभिन्न साप्ताहिकका साथै करिब १० वटाको हाराहारीमा अनलाईनहरु संचालनमा छन् । यो सबै मिडियाहरु मकवानपुरको बजारले धान्न नसक्ने संख्यामा छन् ।
यहाँ अस्वस्थ प्रतिस्पर्धा पनि छ । अहिले पनि पत्रिकामा सूचना वा विज्ञापन ३ सय रुपैयाँदेखि छापिन्छ भन्ने मानसिकता विज्ञापनदाताहरुमा छ । बढीमा विज्ञापनको रेट ३–४ हजार पर्छ भन्ने पनि देखिएको छ । यस्तो हुनुमा यहाँ हुने अस्वस्थ प्रतिस्पर्धालाई मान्न सकिन्छ । यदि यस्तो प्रतिस्पर्धा नरोकिएमा मकवानपुरमा मिडियाको विकास हुन सक्दैन ।
‘कर्मचारीको अभाव’
प्छिल्लो समय मकवानपुरमा रहेका एफ.एम. स्टेसन र दैनिकहरुमा कर्मचारीहरुको अभाव देखिएको छ । विभिन्न समयमा तालिमको व्यवस्था गरेर नयाँ पत्रकारहरु जन्माउने कोशिस गरिएता पनि मिडियामा किस्ताबन्दीका रुपमा आउने तलब र अनुभनवी संचारकर्मीलाई एक मिडियाबाट अर्को मिडियामा तानातान गर्ने परिपाटीका कारण यो समस्या उब्जिएको देखिएको छ ।
देशभरिका अधिकांश मिडियामा जस्तै मकवानपुरमा धेरै जसो पत्रकारहरुले श्रमजीवि ऐन अनुसारको पारिश्रमिक पाएका छैनन् । केहीको तलब १०–१५ हजारदेखि माथि नै भए पनि तलब समयमा नपाईने, समस्या देखाउँदै मगन्ते पारामा माग्नुपर्ने कारणहरुले गर्दा यो क्षेत्रमा आएका नयाँ अनुहार पनि छिट्टै यस क्षेत्रबाट पलायन हुने गरेका छन् । केही सिमित अनुभवी संचारकर्मीहरुलाई पनि एक मिडियाबाट अर्को मिडियामा लान मोलमोलाई हुने गरेका कारण कर्मचारी अभावको ठूलो समस्या मकवानपुरे मिडियाले भोगिरहेको छ ।
अहिले पनि पत्रिकामा सूचना वा विज्ञापन ३ सय रुपैयाँदेखि छापिन्छ भन्ने मानसिकता विज्ञापनदाताहरुमा छ । बढीमा विज्ञापनको रेट ३–४ हजार पर्छ भन्ने पनि देखिएको छ । यस्तो हुनुमा यहाँ हुने अस्वस्थ प्रतिस्पर्धालाई मान्न सकिन्छ ।
‘मिडिया मालिक र श्रमजीवि पत्रकारको सम्बन्ध र समावेश सामाग्री’
मकवानपुरको मिडिया खस्कनुको अर्को कारण मिडिया मालिक, श्रमजीवि पत्रकार र मिडियामा प्रकाशन, प्रशारण हुने सामाग्रीबिचको सम्बन्ध पनि हो । मिडिया मालिक र श्रमजीविको कुरा नमिलेपछि मिडियामा आउने सामाग्रीमा ठूलो असर पर्छ । जुन कुरा यहाँका मिडिया संचालकहरुले सबैभन्दा सुरुमा बुझ्नु जरुरी छ ।
केही मिडिया संचालकहरुलाई मिडियाको सामान्य परिभाषा र मिडियाको शक्तिका बारेमा कुनै ज्ञान नै छैन । मिडिया के हो र मिडियाको कारण समाजमा ल्याउने सकिने आमुल परिवर्तनका बारेमा न उनीहरुले अनुभव गरेका छन् न त पढेका नै छन् । पैसा लगानी गरेका भरमा मालिक बन्नुपर्ने, स्टेसन म्यानेजर बन्नुपर्ने, प्रबन्धक बन्नुपर्ने लालसाका कारण उनीहरुले आफ्नो लगानी समेत उठाउन सकेका छैनन् । धेरै जसोले मिडिया नबुझी लगानी गर्दा लगानी फिर्ता नआउने र मिडिया समेत बन्द हुनेसम्मको अवस्थाको सामना गरेका छन् ।
केही मिडिया संचालकहरुले अहिले पनि ३–४ हजार तलबमै रेडियोमा कार्यक्रम चलाउने र पत्रिकामा काम गर्ने मान्छे पाईन्छ भन्ने सोचेर भुल गर्छन् । तर मकवानपुरमा गिर्दै गएको मिडियाको ईज्जत र आर्थिक अभावलाई बुझ्दैनन् । बरु अहिलेका युवाहरु विदेश जान्छन् तर ४–५ हजारका लागि २४ सै घण्टा मिडियामा ल्याङल्याङे जागीर खान चाहाँदैनन् भन्ने कुरा केही मिडिया संचालकहरुले नबुझेका हुन् वा बुझेर पनि ख्याल नगरेका हुन् त्यो उनीहरुलाई मात्र थाहा छ ।
तर यसो हुनुमा मिडिया संचालकहरुले मात्र दोष छैन । केही पत्रकार र पत्रकारका विभिन्न गुटउपगुट र अहंकारका कारण मकवानपुरको मिडिया झनै डामाडोल हुने अवस्थामा पुगेको छ । यो विचार लेखिरहँदा मकवानपुरका एक जना अग्रज पत्रकारको विचारलाई पनि म सम्झिरहेको छु । केही दिन अघिको भेटमा उनले भने ‘अब मकवानपुरमा अग्रज पत्रकारहरुको सम्मान नै हुन छाडिसक्यो।’ उनले यसो त्यत्तिकै भनेका होईनन् । अहिले मकवानपुरे मिडियामा काम गर्ने केही पत्रकारहरुले अग्रजहरुलाई सम्मान नगरेकोे गुनासो दैनिक आउँछ । कतिपयले त उनीहरुलाई चिन्दैनन् पनि । सँगै हिँडेका अग्रज पत्रकारलाई पनि आफु सरहको सोच्नु सामान्य कुरा जस्तै भएको छ मकवानपुरमा । अनि कार्यक्रममा गएर भेला सम्पन्न भएको समाचार लेख्नेहरुले खोज पत्रकारिता गर्नेलाई पत्रकार भनेर चिन्दैचिन्दैनन् । डेस्कमा बसेर पेलिनेहरु झन कता हो कता ।
मिडियामा आएको केही वर्षमा नै रेडियो खोल्ने, पत्रिका दर्ता गर्ने, अनलाईन चलाउने र ठूला कुरा गर्ने झ्वाँक पत्रकार र जाँड पत्रकारका कारण मकवानपुरको मिडिया डामाडोल हुने अवस्थामा पुगेको छ । काम गरेको ३ महिना मै तलब बढाए काम गर्ने नत्र अर्को मिडियामा जाने धम्की दिने पत्रकारहरु पनि यहाँ कार्यरत छन् ।
केही अर्का थरिका पत्रकार भएका कारण पनि यो समस्या आएको छ । केही पत्रकारहरु पत्रकारिता कम, राजनीति बढी गर्ने गर्छन् जसका कारण पत्रकारहरुको समेत गुट, उपगुट बनेको छ । मकवानपुरमा यति सम्मका पत्रकार छन् कि कुनै स्थानमा कुनै कार्यक्रम हुने र सबैलाई सूचना दिने जिम्मा आयोजकले दिएको खण्डमा आफ्नै गुटका मात्र बोलाउने गर्छन् । त्यतिमात्र होईन रेडियोमा बोल्ने, पत्रिकामा कलम चलाउने तर फ्यानहरुको जोवन गलाउनेसम्मका पत्रकारहरुको नालीबेली पनि बेलाबेलामा समाचार नै बन्ने गरेको छ ।
पत्रकार र मिडिया संचालकको छविका साथै उनीहरुबिच बिग्रिएको सम्बन्धका कारण रेडियो तथा पत्रिकामा आउने कन्टेन्टमा पनि ठूलो गिरावट आउँछ । ती सामाग्रीहरु नाम मात्रका पनि हुन्छन् । मकवानपुरमा भएका अधिकांश एफ.एम. रेडियोहरु मेरो विचारमा खासमा एफ.एम. रेडियो होईनन् ती रेडियोहरु सिडी प्लेयर हुन् जो जत्तिखेर पनि गीतमात्रै बजाईरहन्छन् ।
सामाजिक विकास, सचेतनाका कार्यक्रमहरु यहाँका रेडियोमा कमै बज्ने गरेका छन् । श्रोता ओरियन्टेट हुनु भनेको श्रोताको रोजाईको गीत बजाउनु र उनीहरुसँग गफिनु हो भन्ने भ्रम यहाँ ब्याप्त छ ।
‘अब के छ त मिडियालाई उकास्ने उपाय ?’
यी सबै समस्या समाधानका लागि अब पहिलो चरणमा मकवानपुरमा नयाँ एफ.एम. स्टेसन दर्तामा रोक लगाउनुपर्छ । किन कि अहिलेकै मिडिया धरायशी भएको अवस्थामा नयाँ मिडियामा लगानी गर्ने लगानीकर्ताहरु डुब्ने निश्चित जस्तै छ । त्यस्तै मिडिया संचालन गर्न, दर्ता गर्न पनि केही अनुभव र शिक्षाको तह निर्धारण गर्नुपर्ने देखिन्छ । मिडियामा प्रकाशन प्रसारण गरिने सामाग्रीको गुणस्तर पनि हेर्नुपर्ने भएको छ ।
मकवानपुरमा भएका पत्रकारहरुको बिचमा वैमनश्यता र अनादारको व्यवहारको अन्त्य गर्न बेलाबेलामा अग्रज र समकालिन पत्रकारहरुको भेटघाट र छलफल कार्यक्रम गर्नु जरुरी छ । साथै पत्रकार महासंघको जिल्ला शाखालाई राजनीतिक अखडाको केन्द्र बन्न दिनुहुँदैन ।
देशकै ठूला औद्योगिक क्षेत्रहरु मध्येको एक औद्योगिक क्षेत्र समेत हेटौँडामा भएको नाताले उद्योगसँग सरोकारवालाहरुले समन्वय गरि विज्ञापनको केही हिस्सा मकवानपुरे मिडियालाई छुटाउनुपर्ने अवस्था देखिन्छ । यसो गर्न सकिएमा मात्र मकवानपुरमा मिडिया बाँच्ने आसा गर्न सकिन्छ नभए अबको केही वर्षमा मकवानपुरका धेरै जसो एफ.एम.स्टेसन र दैनिकहरु कि त बन्दा हुन्छन् कि त बिक्री गरेर संचालक फेर्ने क्रम चलिरहन्छ ।
