मनहरी गोली काण्डको सनसनीपूर्ण रहस्य खुल्यो, पक्राउ परे गोली हान्ने दम्पत्ति

कटुवा पेस्तोलदेखि प्रेशर कुकर र सुतली बम फेला
तु खबर संवाददाता
२०७४ माघ २७, शनिबार १३:३५

मकवानपुर, २७ माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित सानो भावर जंगलमा यही माघ २४ गते गोली प्रहार गरि २ जनालाई घाईते बनाएको आरोपमा मनहरीका एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । साथै घटनास्थलबाट बारुद, कटुवा पेस्तोल तथा प्रेशरकुकर बम सहित विभिन्न विष्फोटक पदार्थ समेत भेटिएको छ ।

माघ २४ गते साँझ पौने ८ बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुर बस्ने अन्दाजी ३७ वर्षीय शरण गोले र राक्सिराङ गाउँपालिका वडा नम्बर १ बस्ने राजकुमार मोक्तानलाई गोली हानी घाइते बनाएको आरोपमा मनहरी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ३२ वर्षको रामबहादुर मोक्तान र उनकी ३० वर्षीय श्रीमती दिलमाया मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

घाईते भएका मध्ये गोलेको छातिमा गोली लागेको छ । उनलाई अहिले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारार्थ राखिएको छ । त्यस्तै मोक्तानको टाउकोमा चोट लागेको थियो । उनको टाउकोमा ४ टाँका लगाइएको र उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

यसरी भएको थियो घटना, यसरी भयो खुलासा
माघ २४ गते मनहरीको सानो भावँर जंगलमा एक जना व्यक्तिलाई गोली लागेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरिक्षकको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

घाईते भएका दुबैलाई उपचारको लागि भरतपुर पठाएपछि घटनाको प्रारम्भिक अनुसन्धान शुरु भएको थियो । घटनास्थलमा ना.४० प. ६२१५ नम्बरको मोटरसाईकल जलेको अवस्थामा देखिएको थियो । घटनको अनुसन्धान गर्दै जाँदा उक्त माटरसाईकल आरोपी मुक्तानको दम्पत्तिको भन्ने खुलेको थियो ।
उनीहरुलाई माघ २६ गते नियन्त्रणमा लिइएपछि घटनाको रहस्य खुलेको हो । पक्राउ परेका मोक्तान दम्पत्तिको बयान अनुसार मोटरसाईकल बाटोमा रोकिराखेको अवस्थामा घाईते भएका शरणसहितले मोटरसाईकलमा चढेर आएर बाटोमा मोटरसाईकल रोक्ने को हो भनि अपशब्द बोलेका थिए । विवादकै बिचमा हाल नामथर खुलेका शरणले मुक्तानलाई एक थप्पड लगाए । त्यसबाट बढ्दै गएको विवादमा मुक्तानले आफ्नो कम्मरमा राखिएको नलकटुवा पेस्तोलले शरण गोलेलाई एक राउण्ड गोली प्रहार गरिएको थियो ।

त्यसपछि उक्त पेस्तोल मनहरी ९ स्थित खरङ्गा र सानो भावँर जंगलको बिचमा फालेको भनि मुक्तान दम्पत्तिले बयान दिएका थिए । त्यस पश्चात २६ गते नै बिहान १० बजे जिल्ला प्रहरी तथा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्र.अ.समेतको टोलीले आरोपी रामबहादुरलाई घटनास्थलमा हतियारको खोजीका लागि साथै लिएर गएको थियो ।

तर त्यस स्थानमा थप हातहतियार समेत फेला परेपछि घटना अझ रहस्यमय बन्यो । खरङ्गा चोक नजिकको बाटोमा रहेको बालुवामा एस.एल.आर. राइफलको गोली १ थान, ३०३ राईफलको गोली १ गान फेला परेको थियो । तर उक्त स्थानमा रामबहादुले लुकाएको भनिएको हतियार भने भेटिएन । उनलाई पून सोधपुछ गर्दा आफ्नो ससुराको घरमा लुकाएको भन्दै सत्यता खोले । सोही दिन साँझ ६ बजे प्रहरी टोलीले सोही गाउँपालिकाको वडा नम्बर ५ डिल्लीपुरमा रामबहादुरको ससुरा गोपीलाल रुम्बाको घरमा खानतलासी गरेको थियो ।

गोपीलालको घरमा पिडीत शरणलाई गोली प्रहार गरेको नलकटुवा पेस्तोल १ थानसहित तयारी अवस्थाको कुकर बम १ थान, ईन्सासको २ राउण्ड थान गोली, ८ एम.एम. लेखेको गोली राउण्ड २ थान, कुकर बम पड्काउने रिमोट १ थान, सुतली बम २ थान, बारुद आधा किलो, डेटकट आधा मिटर, डेटोनेटर ६ थान, पहेँलो गन्धक पदार्थ १ थान, म्याक्सेल लेखेको ब्याट्री २ थान, गाडीको वेरिङको छर्रा ११ थान, रडको टुक्रा ५ थान, कैँची १ थान, कालो टेप १ थान, रेती १ थान, खाक्सी आधा मिटर र नेपाली सेनाको कम्ब्याट १ थान फेला परेको थियो ।

अहिले मुक्तान दम्पत्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*