जीव विज्ञान सम्मेलन धुलिखेलमा हुने

तु खबर संवाददाता
२०७४ माघ २६, शुक्रबार ०९:३२

काठमाडौँ, २६ माघ । जीव विज्ञान तथा जैविक प्रविधिसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म धुलिखेलमा हुने भएको छ ।

काठमाडौँ विश्वविद्यालय जैविक रसायन विभाग, चिकित्सा शास्त्र अध्ययन संस्थान, धुलिखेल अस्पताल, रिसर्च इस्टिच्युट फर बायोसाइन्स एण्ड बायो टेक्नोलोजी नेपाल र इन्स्टिच्युट फर मोलिक्युलर मेडिसिन, फिनल्याण्डको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

आयोजक समितिका सदस्य प्रज्वल राजभण्डारीले देशमै पहिलो बायो बैंक स्थापनाका लागि सहभागी प्रतिनिधिले योजना प्रस्तुत गर्ने जानकारी दिनुभयो ।

बायो बैंकको उद्देश्य मानव रक्त कोष तथा अन्य अंगको नमूना संकलन गरी अनुसन्धानका लागि वितरण गर्ने हो जसबाट मानव शरीरको उमेर, रोग, तथा वृद्धि विकासमा हुने आधारभूत प्रश्नको समाधान गर्न सहयोग गर्ने उहाँले बताउनुभयो ।

‘बायो साइन्स एण्ड बायो–टेक्नोलोजी’ का विषयमा फिनल्याण्ड, डेनमार्क, जर्मनी, स्वीडेन र भारतबाट आउने १७ वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलन नेपालमा बायो–बैंकिङको महत्व र ट्रान्सनेसनल मेडिसिन अनुसन्धानबारे केन्द्रित हुने बताइएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*