हेटौँडामा पार्किङ क्षेत्र खोज्दै ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ र उपमहानगरपालिका, अब के हुन्छ ?
–चन्द्र घलान
मकवानपुर, २४ माघ । ३ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएसँगै मकवानपुरको हेटौँडामा सवारी व्यवस्थापन तथा फुटपाथ व्यवस्थापनको कार्य तिव्र गतिमा चलिरहेको छ । यही फागुन १ गतेदेखि फुटपाथ व्यवसायलाई पूर्णरुपमा हटाउने अभियानका साथ लागेको हेटौँडा उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न चरणका छलफलका साथै फुटपाथ र सवारी पार्किङलाई व्यवस्थित गर्न नगरभित्रका विभिन्न स्थानहरुको समेत खोजी गरिरहेको छ ।
हेटौँडामा ह्वात्तै बढेको अटो तथा मयुरी, जथाभावी ओभर टेक र तिब्र गतिमा कुद्ने मोटरसाईकल तथा ठेला व्यवसायलाई समेत उचित स्थानमा सारेर कुरुप बन्दै गएको हेटौँडा बजारको मुहारलाई पून पहिलेको जस्तै सफा बनाउन यहाँका सरोकारवाला निकायसँगै संचारकर्मी र आमजनसमुदाय समेत एक भएर लागिपरेका छन् । साथै हेटौँडालाई नै स्थायी राजधानी बनाउनका लागि अभाव भएका स–साना संरचनाहरुलाई समेत पुरा गर्न यतिखेर नगरवासी र सरोकारवाला निकाय एक ढिक्का भएर अगाडि बढेका छन् ।
‘दैनिक छलफल र कार्यान्वयन गराउन तत्पर उद्योग वाणिज्य संघ’
व्यवसायीक र औद्योगिक क्षेत्रलाई मात्र नभई सामाजिक दायित्व पनि बढेको भन्दै फुटपाथ तथा सवारी व्यवस्थापनका लागि मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको टोली खटिरहेको छ । संघमा दैनिक रुपमा हेटौँडा उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी, संचारकर्मी र संघका वस्तुगत संघका प्रतिनिधिहरुसँग छलफल गरेर रणनीति तयार पार्दै संघले जसरी पनि फुटपाथ र सवारी व्यवस्थापन गरि छाड्ने अडानका साथ अगाडि बढेको छ ।
कर तिरेर व्यवासाय गर्नेहरुलाई फुटपाथमा बसेर चुनौति दिने व्यापारीहरुका मामला समेत उचित व्यवस्थापनका साथ हटाउनका लागि कटुवालको टिम सक्रिय भएर लागेको छ । नियमित छलफलका क्रममा संघका सदस्य व्यवसायीहरुबाट नै सटर हुँदा हुँदै फुटपाथमै निकालेर व्यवसाय गरेको जानकारी प्राप्त गरेपछि उनले ह्विप जारी गरेर तुरुन्त त्यस्तो व्यवहार रोक्न संघका सदस्य तथा कार्य समिति सदस्य व्यवसायीलाई निर्देशन दिने उनले बताएका छन् ।
ठूला गाडीलाई मूख्य बजारमै छिर्न नदिई रातोमाटेबाट सिधै राप्ती पुलमा निकाल्ने योजना एक विकल्प हुनसक्ने भन्दै उनले त्यतातर्फ पनि ध्यान दिन आग्रह गरेका छन् । साथै नगरपालिकाले कर उठाउनकै लागि बाईपासतर्फ भारी सवारी साधनलाई लग्दै आएको कारण त्यस कर कार्यालयलाई समेत सोही बैकल्पिक बाटोमा सार्न सकिने पनि उनले विचार पोखेका छन् ।
टिफरका विषयमा समेत गम्भिर हुँदै उनले टिफरलाई राप्तिको किनारबाट संचालन गर्न सकिने बताएका छन् । ‘हामीलाई बर्खाका समयमा ३ महिना जति समस्या पर्ला तर ९ महिना जति यस वर्ष छठ पुजा मनाइएको स्थानबाट तुरुन्तै सामान्य मर्मतसम्भारबाटै टिफर बजारमा छिर्न नदिई त्यहीँबाट संचालन गर्न सकिन्छ’ उनले भने ।
‘कान्तिराजपथबाट खाद्यान्न भण्डारहरु सार्नु नै उत्तम’
कटुवालले विभिन्न छलफलमा कान्तिराजपथमा भएका खाद्यान्न पसलहरु त्यहाँबाट उचित स्थानमा सर्नु राम्रो भएको बताएका छन् । धरान चतरा संचालनमा आएपछि बढीमा एक वर्षभित्रै त्यहाँबाट ती पसलहरु विस्थापित हुनुपर्ने अवस्था आउनुपर्ने धारणा वक्ताहरुले राखेका छन् । त्यसैले त्यस क्षेत्रमा भएका खाद्यान्न भण्डारहरुलाई समेत उचित स्थानमा सर्नका लागि अनुरोध गरिएको छ । ती खाद्यान्न भण्डारहरुमा ढुवानी गर्ने क्रममा पनि सवारी जाम हुने गरेको छलफलमा निष्कर्श निस्किएको छ ।
‘ट्राफिक प्रहरीको संघर्ष’
हेटौँडामा सवारी व्यवस्थापन र फुटपाथ व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई हम्मे–हम्मे परेको छ । व्यवसायी र सर्वसाधारणको समेत समस्यालाई ध्यानमा राखेर काम गर्नुपर्ने भएका कारण उनीहरुलाई यस्तो समस्या परेको हो ।
तु खबरसँग कुराकानी गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख नविन अधिकारीले सवारी तथा फुटपाथ व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिका र मकवानपुर उद्योग वाणिज्य संघसँग छलफल गरेर आफुहरु अगाडि बढिरहेको बताए । उपमहानगरपालिकाले समेत यसमा बढी चासोका साथ कदम चालिरहेकाले ट्राफिक प्रहरी पनि त्यसको कार्यान्वयनको लागि सधैँ तत्पर रहेको उनले बताए ।
हेटौँडाको स्कूल रोडमा डबल पार्किङको समस्या भएको बारेमा बोल्दै उनले त्यस्ता समस्याको निराकरणका लागि उचित स्थानमा पार्किङको व्यवस्थापन गर्न स्थानको खोजीमा रहेको उनको भनाई छ ।
फुटपाथ तथा सवारी व्यवस्थापनका क्रममा हेटौँडाको खोपेगल्लीमा समेत विस्तारै सुधार हुँदै गएको उनले जानकारी दिएका छन् । छलफलका क्रममा उनले अटो पार्किङ र मोटरसाईकल सर्भिस सेन्टरका कारण पनि बजार अस्तव्यस्त बनेको बताएका छन् । ती सबैलाई व्यवस्थापनका लागि उचित स्थानको खोजीमा अहिले यी ३ ओटै सरोकारवाला निकाय क्रियाशिल छ ।
‘मेयरको दौडधुप’
फुटपाथ व्यवस्थापनका साथै सवारी व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत यतिखेर दौडधुप गरिरहेका छन् ।
नगरपाकिलाका जनप्रतिनिधि तथा कर्मचारीहरुको साथ लिएर जिल्ला ट्राफिक तथा उद्योग वाणिज्य संघसँगको आन्तरिक तथा सार्वजनिक छलफलमा समेत उनी जुटेका छन् । हेटौँडामा प्रदेश साँसदलाई डेरा खोज्ने समस्याबाट मुक्त गराई सरकारी क्वाटरमै बस्ने व्यवस्था मिलाउन र सांसद भवनलाई व्यवस्थित गर्ने कार्यमा समेत आफु लागिपरिरहेको उनी बताउँछन् ।
फुटपाथ तथा सवारी व्यवस्थापनका विषयमा तु खबरसँग कुराकानी गर्दै मेयर महतले फुटपाथ र सवारी व्यवस्थापनका लागि यही स्थान भनेर निर्णय नभएता पनि उचित स्थान खोजिरहेको बताए । ‘सवारी पार्किङ र फुटपाथ व्यवस्थापनका लागि उचित स्थानको खोजी जारी छ,’ उनले भने । ‘हामी विभिन्न विकल्प र सुझावका अनुसार तयारीमा जुटेका छौँ ।’
फुटपाथ र सवारी व्यवस्थापनका लागि सबै लागि परेपनि फागुन १ गतेसम्म पूर्ण रुपमा हटाउन निकै समस्या देखिएको छ । तर पनि यसलाई जसरी भएपनि पुरा गरिछाड्ने मनसायका साथमा आफुहरु लागिपरिरहेको नगरवासी, सरोकारवाला र संचारकर्मीहरुको भनाई छ ।
