अनौठो गुफा, जहाँ देखिन्छ देवीदेवताको आकृति

तु खबर संवाददाता
२०७४ माघ २३, मंगलवार १३:३०
गुगलबाट

बेनी, म्याग्दी, २३ माघ । म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ ।

बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घर आदिका आकृति रहेका स्थानीयले बताएका छन् ।

पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको छ । स्थानीय उदय रोकाले फेला पार्नुभएको गुफाको बारेमा जिल्लाभित्र र अन्य ठाउँमा जानकारी नभएकाले ओझेलमा परेको कुहुँका बासिन्दा एवं शिक्षक डकबहादुर रोकाले बताउनुभयो ।

गुफाको आकर्षणका बारेमा प्रचारप्रचार हुन नसकेको रोकाको भनाइ रहेको छ । उहाँका अनुसार स्थानीय र छिमेकी वडाका विद्यालयबाट कहिलेकाहीँ शिक्षक र विद्यार्थी गुफाको अवलोकन गर्न आउँछन् ।

“गुफाका बारेमा धेरैलाई जानकारी नै छैन” रोकाले भन्नुभयोे “व्यवस्थित पदमार्ग निर्माण गरी प्रचारप्रसार गर्ने हो भने यो गुफा जिल्लाको नयाँ पर्यटकीय गन्तव्य बन्न सक्छ ।”

एउटै गुफाभित्र रहेका धेरै आकर्षक कलाकृतिले कठिन पैदलयात्रा गरेर त्यहाँ पुग्दाको नरमाइलो क्षण बिर्सिएको हालै गुफाको अवलोकन गरेर फर्कनुभएका रन्जित रोकाले बताउनुभयो ।

सदरमुकाम बेनीबजारदेखि करिब तीन घण्टाको पैदलयात्रा पछि पुगिने सो गुफाको संरक्षण गर्नतर्फ सरोकारवालाको ध्यान जान आवश्यक रहेको स्थानीयवासीले बताएका छन् । प्रसस्त पर्यटकीय सम्भावना भएर पनि भौतिक पूर्वाधार र प्रचारप्रसारको अभावमा सो गुफा ओझेलमा परेको स्थानीयको भनाइ रहेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*