अपडेट–मकवानपुर प्रहरीले पक्राउ गरेका दिपेन्द्र कसरी भागे अदालत परिसरबाट ?
-चन्द्र घलान
मकवानपुर, २२ माघ । मकवानपुर प्रहरीले पक्राउ गरेका एक व्यक्ति म्याद थपका लागि अदालत लाँदै गर्दा अदालत नजिकैबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाका अनुसार लागुऔषध गाँजाको साथमा पक्राउ परेका सर्लाहीको मलङ्वा २ बस्ने १७ वर्षीय दिपेन्द्र साह अदालत परिसरबाटै फरार भएका हुन् ।
डिएसपी झाका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टबाट साह सहित अर्का एक जना युवक समेत पक्राउ परेका थिए । तर उनी भने भाग्न पाएनन् । डिएसपी झाका अनुसार फरार भएका साह मलंवाको भनिएपनि प्रहरी प्रधान कार्यालय नक्सालले भने साह सर्लाहीको औरही गाउँपालिका वडा नम्बर २ को भएको जानकारी दिएको छ ।
हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा सवारी साधन जाँच गर्नेक्रममा हेटौंडाबाट बारा जाँदै गरेको ना.४ ख ४९९१ नम्बरको बसमा सवार सर्लाहीको औरही गाउँपालिका–८ बस्ने १६ वर्षीय धर्मेन्द्र पासवानलाई समेत उनीसँगै पक्राउ गरिएको थियो । पासवानले बसको सिटमुनी झोलामा राखी लुकाई ल्याएको ७ किलो २ सय ग्राम र सोही गाउँपालिका–२ बस्ने साहलाई ८ किलो २ सय ग्राम गरी जम्मा १५ किलो ४ सय ग्राम लागूऔषध गाँजा सहित सोमबार प्रहरीले पक्राउ गरेको थियो ।
साह फरार भए पनि पासवान भने प्रहरी हिरासतमै भएको डिएसपी झाले जानकारी दिए । साह कसरी फरार भए भन्ने बारेमा आफुहरु अनुसन्धानमा रहेको पनि उनले बताए । तर उनलाई कसको कमाण्डमा अदालत लगिएको थियो भन्ने बारेमा भने उनले जानकारी आउँदै गरेको बताएका छन् । केही समयमा साहलाई अदालतमा लाने प्रहरी कमाण्डरको नाम पत्ता लाग्ने उनले तु खबरलाई जानकारी दिएका छन् ।
