पुल नबन्दा जनता समस्यामा

तु खबर संवाददाता
२०७४ माघ २२, सोमबार १५:०८

राजविराज, २२ माघ । सरकारी उदासिनताका कारण वर्षौंदेखि जीर्ण रहेको सप्तरीको अति पुरानो हुलाकी सडकखण्डको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गइरहेको छ ।

सो सडकखण्डमा निर्माण कार्य भइरहेको अधिकांश पुलसमेत तोकिएको समयमा निर्माण कार्य हुन नसकेकाले पनि यहाँका जनता समस्यामा परेको छ । जिल्लाको दक्षिण र पश्चिम भेगकामा रहेका हुलाकी सडक नबन्दा र हुलाकी सडकको पुलसमेत नबनेका कारण सप्तरीको सदरमुकाम राजविराजदेखि सिरहा रोडको हुलाकी सडकमा हिँड्ने हजारौँ स्थानीयवासीलाई दिनहुँ आवतजावतमा समस्या खेप्नु परिरहेको मलेकपुरका वीरेन्द्र यादवले गुनासो गर्नुभयो ।

मुलुककै पुरानो हुलाकी सडकलगायत ग्रामीण भेगका सडकको अवस्था दिनदिनै दयनीय बन्दै गएपछि सडकमा हिँड्ने सर्वसाधारण जनता धुलो माटोमा हिँड्नसमेत बाध्य रहेको यादवले बताउनुभयो ।

योसँगै हुलाकी सडकअन्तर्गत सप्तरीको पथरगडा र मुतनी खोलामा निर्माण भइरहेका पुलसमेत अझै सुस्तगतिमा निर्माण कार्य भइरहेको हुँदासमेत आवतजावतमा समस्या भइरहेको स्थानीय भूपेन्द्र मण्डलले बताउनुभयो ।

हुलाकी सडकखण्डअन्तर्गत रहेको मलेकपुर र पत्थरगाडाबीचमा अवस्थित मुतनी नदीमा पुल निर्माणको कार्य सुस्तगतिमा भइरहेकाले यहाँका सर्वसाधारणलाई समस्या परेको छ ।

हुलाकी राजमार्गको मुतनी खोलामा रु चार करोड ७७ लाख ३६ हजार ९४५ मा र हुलाकी सडककै कजरहा खोलामा रु दुई करोड ४४ लाख ६०० हजार ४८ को सम्झौता भएअनुसार निर्माण कार्य भइरहेको निर्माणस्थलमा राखिएको बोर्डमा उल्लेख छ ।

जीर्ण सडक र अधुरो पुलका कारणले जिल्लाको पश्चिमी र दक्षिणी भेगका ग्रामीण क्षेत्रबाट सदरमुकाम राजविराजसम्म पैदलयात्रा गर्नेदेखि लिएर साइकल, मोटरसाइकललगायत अन्य सवारीसाधन आवगमन गर्ने निकै समस्या खेप्नु परिरहेको अर्का सर्वसाधारण शिवचरण यादवले बताउनुभयो ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*