आगलागीमा ५ वर्षीय बालकको ज्यान गयो, लाखौँ जल्यो
काठमाडौँ, २१ माघ । मुलुकका विभिन्न स्थानमा भएको आगलगीमा एकजनाको ज्यान जानुका साथै लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी फुयाल गाउँ बस्ने देवकी चापागाईको जस्ताले बनाएको टहरोमा शनिबार आगलागी हुँदा उक्त स्थानमा खेली रहेका सोही ठाउँ बस्ने ईश्वर फुयालको ५ बर्षीय छोरा ईसान फुयालको जलेर मृत्यु भएको छ । आगलागीबाट पराल र टहरो जलेर करीब ४५ हजार रुपैयाँ बराबरको क्षति समेत भएको छ ।
बाँकेको खजुरा गाउँपालिका–८ रनियापुर बस्ने अब्दुल मुना खाँको एक तले कच्ची घरमा शनिबार आगलागी हुदाँ करीव २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका–९ लामाटार गहते बस्ने रत्नबहादुर थापाको टिनको छानो भएको एकतले घरमा शनिबार गाईको लागी खोले पकाउने क्रममा आगलागी हुदाँ करीब ५ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
सुनसरीको गढी गाउँपालिका–१ मधेली स्थित प्रगती टोल बस्ने जितनी देवी चौधरीको खरको छानो भएको ग्वाली घरमा शनिबार करेन्ट सर्ट भई आगलागी हुदाँ करीब १ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
