अहिले ३ नम्बर प्रदेशको ऐतिहासिक प्रथम बैठक हुने प्रदेशसभा सचिवालयमा यस्तो छ माहोल
मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठक हेटौँडामा रहेको प्रदेससभा सचिवालयमा आज दिउँसो १ बजेबाट शुरु हुँदैछ । बैठकममा रिपोर्टिङका लागि सचिवालय भवनभित्र रहेका हाम्रा समाचार प्रमुख बलराम पुडासैनीले बैठकमा उपस्थित हुनका लागि सांसदहरु आउने क्रम जारी रहेको बताएका छन् ।
‘अहिले केही सांसदहरुमात्र आउनुभएको छ, एकैछिन्मा अन्य सांसदहरु पनि आउने जाकारी प्राप्त गरेको छु’ उनले भने । उनका अनुसार बैठकको रिपोर्टिङका लागि संचारकर्मीहरु भने तयारीका साथ बसिरहेका छन् । सचिवालयको सुरक्षा र व्यवस्गथापनलाई समेत उच्च प्राथमिकता दिएका छन् । ११० जना प्रदेशसभा सदस्यहरुको बैठकमा २० जना संचारकर्मीहरु मात्र भित्र बसेर रिपोर्टिङ गर्ने व्यवस्था गरिएको छ । अन्यले भने बाहिरबाटै रिपोर्टिङ गर्नेछन् ।
आजको बैठकको पहिलो कार्यसूचिमा सभामुखले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनेछन् । दोश्रोमा ऐतिहासिक प्रथम पहिलो अधिवेशन प्रारम्भका अवसरमा दलका प्रतिनिधिहरुले मन्तव्य राख्नेछन् । त्यस्तै माननीय सभामुखले ‘प्रदेश नम्बर ३ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४’ लाई पारित गरियोस् भनि प्रस्ताव गर्नेछन् ।
चौथोमा माननीय सभामुखले ‘प्रदेश नम्बर ३ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४’ बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरुको मनोनयन गर्नेछन् । अन्त्यमा पाँचौ कार्यविधि अनुसार माननीय सभामुखले प्रदेशसभा अन्तरिम कार्यविधि, २०७४ को दफा (६) को उपदफा (१) बमोजिम प्रदेशसभाको सभामुखको निर्वाचनका लागि दिन तोक्नेछन् ।
प्रदेशसभा बैठकमा नेकपा एमालेका ५८ जना ,नेपाली काँग्रेसका २१ जना, माओवादी केन्द्रका १५ जना ,राप्रपाका १ जना ,राप्रपा प्रजातान्त्रिकको १ जना ,नेमकिपाको २ जना ,नयाँ शक्तिको १ जना ,विवेकशिलको ३ जना र अन्य ८ जना सदस्यहरु रहेका छन् ।
