विदेशिएका नेपाली पीडितलाई सहयोग

तु खबर संवाददाता
२०७४ माघ १७, बुधबार १२:५२

काठमाडौँ, १७ माघ । अनिस प्रतिष्ठान संस्थाले वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपालीलाई परेको समस्यामा विभिन्न आर्थिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ ।

युएईमा मृत्युदण्डको सजाय सुनाइएका संखुवासभाका अनिस खालिंग राईको जीवन रक्षार्थ अभियान चलाएको सो प्रतिष्ठानले मृत्युदण्डबाट बचेर आएका अनिस राईको पुनःस्थापनाका लागि रु २५ लाख रकम सहयोग गरेको थियो ।

सो संस्थाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सोलुखुम्बुका बोनम्यारोबाट पीडित रुद्र कुलुंगलाई उपचारार्थ एक लाख र मलेशियामा कार्यरत रहँदा ब्लड क्यान्सर भएर नेपाल फर्किएका संखुवासभाका रमेशप्रसाद तिमिल्सिनाको उपचारका लागि रु २५ हजार आर्थिक सहयोग गरेको सो संस्थाका अध्यक्ष रामरतन राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउदी अरबमा कार्यरत रहेकै अवस्थामा मृत्यु भएका दार्चुलाका पुरनसिंह धामीको शव नेपाल ल्याउन धामी परिवारलाई रु १५ हजार सहयोग गरेको थियो ।

सो संस्थाका महासचिव प्रकाश खालिंगले साउदी अरबमा मृत्युदण्ड सुनाइएका नवलपरासीका थानेश्वर भुषाल, सल्यानका बलबहादुर बस्नेत, मलेशियाका मृत्युदण्डको सजाय सुनाइएका हरिबहादुर घले लगायतलाई आर्थिक तथा कूटनीतिक सहयोगका लागि पहल गरिरहेको पनि जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*