ल्होछारको अवसरमा मनहरीमा क्षेत्रीयस्तरको बृहत सांस्कृतिक कार्यक्रम हुने, यसरी हुँदैछ भव्य तयारी
–दिलबहादुर लामा
मकवानपुर, १७ माघ । तामाङ समुदायको महान राष्ट्रिय पर्व मन्जुश्री सम्वत २८५४ सोनाम ल्होछारको अवसरमा आउँदो फागुन ५ गते मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा क्षेत्रीय स्तरको ल्होछार विशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । ल्होछारलाई भव्य बनाउनका लागि विभिन्न तयारी समेत गरिएको छ । कार्यक्रमकै लागि आईतबार साङ्ग छ्योइफेल गुम्बा मनहरीमा बसेको बैठकले जानकी लामाको संयोजनमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । त्यस्तै विभिन्न उपसमितिहरु पनि निर्माण गरिएको छ ।
गुणराज स्याङ्तानको संयोजनमा आर्थिक समिति, सगुन स्याङ्तानको संयोजनमा कलाकार साँस्कृतिक समिति, ठाकुर घिसिङको संयोजनमा साउण्ड सिस्टम र स्टेज ब्यबस्थापन, संगीता थिङको संयोजनमा प्रचारप्रसार समिति, छात्री कुमारी गोलेको संयोजनमा आतिथ्य सत्कार, खुसीलाल मोक्तानको संयोजनमा सम्मान ब्यबस्थापन गर्ने लगायतको उपसमिति गठन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई भब्य बनाउन राष्ट्रिय कलाकारहरुमा चर्चित सेलो गायक रोज मोक्तान, चर्चित गायक तथा संगीतकार विश्व दोङ, गायिका शशिकला मोक्तान, नेपाली तारा सिजन–३ का सुरेश लामा लगायत तामाङ सास्कृतिक घेदुङका कलाकार टिमको तर्फबाट डम्फु र टुङ्नाको प्रस्तुति रहने छ । त्यस्तै मकवानपुरमाबाट चर्चामा आएर नेपाली संगित र कलाका क्षेत्रमा ख्याति कमाउन सफल कलाकारहरुमा अविराम मोक्तान, सुन्दर लामा, बुद्धिमान घिसिङ, रबिन कुमार चेपाङ लगायतको बेजोड प्रस्तुति रहने कलाकार साँस्कृतिक संयोजक सगुन स्याङ्तानले बताए ।
कार्यक्रममा नै मकवानपुर प्रदेश सभा २ को (ख) अन्तर्गत तामाङ समुदायबाट प्रदेश सभा सदस्य चुनिएका जनप्रतिनिधिहरुसहित स्थानीय तहमा निर्वाचित भएका अन्य जनप्रतिनिधि अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुलाई सम्मान समेत गरिने छ । सो क्षेत्रको बिद्यालयबाट एस.ई.ई.परिक्षा २०७४ मा ए प्लस ल्याएका विद्यार्थीहरुलाई पनि सम्मान गरिनेछ ।
ल्होछार विशेष कार्यक्रमको लागि प्रमुख अतिथिमा नेपाल तामाङ घेदुङको केन्द्रिय अध्यक्ष मोहन गोले तामाङ, धर्मगुरु खेन्पो सोनाम ग्युर्मे तामाङ लगायतको विशिष्ठ अतिथिहरुको उपस्थिति रहने कार्यक्रम संयोजक जानकी लामाले जानकारी दिईन् ।
साँस्कृतिक कार्यक्रम भब्य बनाउन मकवानपुरकै लोकप्रिय मनहरी एफ.एम, रेडियो तामसालिङ अनलाइन र तु खबर डटकमलाई मिडिया पार्टनरको रुपमा जिम्मेवारी दिइएको छ ।
