सेक्युरिटी गार्डलाई मारेको अभियोगमा मकवानपुरका युवक काठमाडौँमा पक्राउ
मकवानपुर, १६ माघ । मकवानपुरको थाहा नगरपालिका–९ का २२ वर्षाीय राजन थापा क्षेत्रीलाई काठमाडौँमा सेक्यूरिटी गार्डलाई कर्तव्य गरी मारेको अभियोगमा पक्राउ गरिएको छ । त्यहाँस्थित राजधानी स्वीटमा मिठाई बनाउने कुक, मछिन्द्र क्लवबाट सेक्यूरिटी गार्डको काम गर्ने क्षेत्रीलाई काठमाडौंको बाङगेमुढाबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–२५ मछिन्द्र वहालमा ईस्टुवेट सेक्युरीटी कम्पनीमा गार्डको काम गर्ने दोलखा शैलुङ्ग गाउँपालिका–४ का ५४ वर्षीय तुलवहादुर तामाङ सोमबार घाइते अवस्थामा फेला परेको र उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर बीर अस्पतालतर्फ लैजाने क्रममा उनको मृत्यु भएको थियो । तामाङको मृत्यू भएको सूचना पाएपछि महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी बृत्त जनसेवा समेतको संयुक्त टोलीले अनुसन्धान गर्दै जाँदा घटनामा राजनको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
मछिन्द्रबहाल चोकमा सेक्यूरिटी गार्डको रुपमा काम गर्दै जाने क्रममा ड्यूटीको बिषयलाई लिएर दुवैजनावीच बादविबाद हुँदै आएकोमा आइतबार राति राजनले तुलबहादुरलाई आफू ड्यूटी गर्न आउन नसक्ने भनी जानकारी गराउन जाँदा झगडा भई रिसइवीको कारण इँटाले टाउकोमा पटक–पटक प्रहार गरी भागेको अनुसन्धानको क्रममा खुल्न आएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
