सहिदले देखाएको बाटो हिँड्न जोड, यसरी मनाईयो मकवानपुरमा सहिद दिवस
मकवानपुर, १६ माघ । मकवानपुरमा सहिद दिवसका अवसरमा आयोजित कार्यक्रमहरुमा वक्ताहरुले सहिदहरुको बलिदानको चर्चा गर्दै उनीहरुले देखाएको बाटोमा हिँड्न आग्रह गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सहिद स्मारकमा रहेको सहिदहरुको प्रतिमामा माल्यार्पण गरेर आज मकवानपुरवासीहरुले सहिदप्रति श्रद्धा सुमन व्यक्त गरेका छन् । मंगलबार बिहान एउटै ढुङ्गामा कुँदिएका बिभिन्न कालखण्डका सहिदहरुको प्रतिमामा माल्यार्पण गरी हेटौंडामा सहिद दिवस मनाइएको छ ।
सहिदहरुको प्रतिमामा माल्यार्पण अघि नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको एक टोलीले सलामी समेत दिएको थियो । माल्यार्पणपछि आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद बिरोध खतिवडा, प्रदेशसभा सांसद कुमारी मोक्तान, डोरमणि पौडेल, नेपाली काँग्रेस मकवानपुरका कोषाध्यक्ष गोपिलाल विश्वकर्मा लगायतले सहिदहरुको योगदानको कदर गर्दै उनीहरुले देखाएको बाटोमा हिड्नुपर्नेमा जोड दिएका थिए । माल्यार्पण अघि सहिद दिवस समारोह मुल आयोजक समितिको आयोजनामा हेटौंडा ११ नवलपुरबाट प्रभातफेरी गरिएको थियो ।
सहिद स्मारकमा रहेको एउटा ढुङ्गाको स्मृति स्तम्भमा विभिन्न युद्ध र जनसंघर्षमा सहिद भएका १२ जना सहिदकोे मुखाकृत कुदिएको छ । १९ मिटर डाइको गोलाइमा रहेको उक्त स्तम्भ ६५ फिट अग्लो रहेको छ । सहिदहरुको प्रतिमा रहेको स्मारक वार्षिक ३ लाख बढि आन्तरिक र बाह्य पर्यटकले अवलोकन गर्ने गरेको सहिद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिएका छन् ।
