सवारी दुर्घटनामा श्रीमान श्रीमतीसहित ५ जनाको मृत्यू
काठमाडौं, १५ माघ । मुलुकका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यू भएको छ । काठमाडौं महानगरपालिका–३१ मिनभवनमा बा.९०प ६४६ नम्वरको मोटरसाइकलले आइतबार पैदलयात्री दोलखा घर भई बानेश्वर बस्ने ५० वर्षीय ध्रुब कार्कीलाइ ठक्कर दिँदा गम्भीर घाइते भएकाले उपचारको लागि न्युरो अस्पताल बाँसबारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित तल्लो बजारमा रा.१ ख ९३९ नम्बरको ट्रक उकालो चढ्न नसकी ब्याक भई रा.३ प ८५९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक रुकुम मोराबाङ–८ बस्ने ३२ वर्षीय दिलिप बुढा र उनको ३० वर्षीया श्रीमती सम्झना पुन गम्भीर घाइते भएकाले उपचारको लागि अञ्चल अस्पताल दाङ पठाइएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणम लिएको छ ।
सर्लाहीको कबिलासी नगरपालिका–८ अगरवास्थित सडकमा ना.५ त ८२२८ नम्बरको ट्याक्टरलाई बा.५च ८६३८ नम्बरको एम्बुलेन्सले आइतबार पछाडीबाट ठक्कर दिँदा ट्याक्टर चालक सर्लाही पर्सा गाउँपालिका–४ बस्ने ३५ वर्षीय जितन कापरको घटनास्थलमै मृत्यु भएको छ । फरार एम्बुलेन्स चालकको प्रहरीले खोजतलास गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
दाङको तुल्सीपुर उपमहानगरपालिका–६ हात्तीखोला चोकमा रा.१ ख १२९९ नम्वरको रोकी राखेको बसमा रा.३ प ५७०४ नम्वरको मोटरसाइकल सोमबार ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उक्त मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–४ पनहरी बस्ने ७१ वर्षीय थमनबहादुर विष्टको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुवै सवारी साधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
