मच्छेगाउँमा लागुऔषध मुक्त गर्न महिलाहरुले चलाए यस्तो अभियान

तु खबर संवाददाता
२०७४ माघ १५, सोमबार १६:४४

काठमाडौं, १५ माघ । राजधानीको मच्छेगाउँका महिलाहरु लागू औषधविरुद्ध शसक्त कार्यक्रम लिएर अघि बढ्ने भएका छन् । जागरण महिला विकास समाजको ब्यानरमा स्थानीय महिलाहरु लागू औषधविरुद्धको अभियानमा निरन्तर सक्रिय भएर लागि रहेका छन् ।

गत वर्षको मंसिर ५ गतेदेखि सुरु गरिएको लागू औषधविरुद्धका अभियानलाई थप गति दिन गत बिहिवार राजधानी एक कार्यक्रम गरी जनचेतना फैलाएका छन् । लागू औषध दुरुपयोगबारेको सो कार्यक्रमका सहभागीहरुले समाजमा बढ्दै गएको लागू औषधको प्रयोगका कारण युवाहरुको स्वास्थ्यमा गम्भिर असर पर्दै गएको भन्दै लागू औषधको दुरुपयोग रोक्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।

स्थानीय जागरण महिला बिकास समाज नेपालद्वारा आयोजित ‘लागु औषध दुरुपयोग सम्बन्धि चेतनामूलक कार्यक्रम’ को उद्घाटन गर्दै प्रमुख अतिथि तथा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले लागू औषधको प्रयोग रोक्न नगरपालिकाले सक्दो प्रयास गरिरहेको बताए । चन्द्रागिरी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित परियोजना उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेयर गिरीले भने, अहिले हरेक विद्यालय र कलेजहरुमा समेत लागू औषधको दुरुपयोगबारे जनचेतना फैलाउन जरुरी छ । प्लस टुमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई समेत यसको दुरुपयोग रोक्ने अभियानमा सहभागी गराई जनचेतना जगाउनु पर्दछ ।’ मेयर गिरीले लागू औषधका कारण कैयौं घरपरिवारले अप्ठेरो अवस्थाको सामना गर्नु परेको बताउँदै नगरपालिका लागू औषध दुरुपयोग रोक्न सक्रिय भएर लाग्ने बताए ।

त्यस्तै विशिष्ट अतिथि नार्कोनन् नेपालका प्रमुख तथा लागू औषधविरुद्धका अभियान्त बसन्तराज कुँवारले लागू औषध समाजको क्यान्सर भएको र यसले युवा पुस्ताको भविष्य अन्धकारतर्फ धकेल्ने हुँदा लागू औषधका विरुद्धमा एकताबद्ध भएर लड्नुपर्ने बताए । नार्कोनानका प्रमुख बसन्तराज कुवरले नगरपालिकाले हरेक घरमा लागु औषधी दुरुपयोग सम्बन्धी चेतनामुलक स्टिकर तासी २ लाख जनतालाई होसियार बनाउनुपर्ने र छिटोभन्दा छिटो चन्द्रागिरी नगरपालिकामा लागुऔषध दुरुपयोग मुक्त क्षेत्र बनाउनुपर्नेमा जोड दिए । साथै कुँवरले लागु औषधको क्षेत्रमा काम गर्न लागेकोमा जागरण महिला बिकास समाजलाई सपलताको शुभकामना व्यक्त गर्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ‘चन्द्रागिरी नगरपालिकामा लागूऔषध दुरुपयोग एक अध्ययन’ भन्ने पुस्तिका मेयर गिरीलाई हस्तान्तरण गरिएको थियो । लागु औषध दुरुपयोग सम्बन्धी चेतनामूलक पोस्टर, स्टिकर र पर्चा सो नगरपालिकाको १६ ओटै ओडा मा बितरण गरिएको जानकारी संस्थाका अध्यक्ष सुगन्धा सिग्देलले दिएकी थिईन् । संस्थाकी अध्यक्ष सिग्देलले मच्छेगाउँ क्षेत्रमा मात्रै नभएर चन्द्रागिरी नगरपालिकामा औषध दुरुपयोग सम्बन्धि चेताना जगाउन हरेक समय प्रयासरत रहेको भन्दै आगामी दिनमा अझै मेहनतसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*