पत्रकारको दुर्घटना बिमा जीवन बिमामा परिणत होला ? यस्तो छ माग

तु खबर संवाददाता
२०७४ माघ १५, सोमबार ११:२०
तस्बिर–गुगल

काठमाडाँै, १५ माघ । नेपाल पत्रकार महासंघ काठमाडाँै शाखाले सरकारले हाल पत्रकारहरुका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग गरेको छ ।

निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउनसमेत महासंघ काठमाडाँै शाखाले माग गरेको हो ।

दुर्घटना बीमाले मात्र पत्रकारको सुरक्षाको सुनिश्चित नहुने भन्दै जीवन बीमा गर्नुपर्ने शाखा अध्यक्ष सन्तराम विडारीले बताउनुभयो ।

शाखाको नुवाकोटको ककनीमा शुक्रबार र शनिबार बसेका विस्तारित बैठकपछि जारी घोषणापत्रमा श्रमजीवी पत्रकारलाई प्रतिमहिना न्यूनतम रु ३० हजार मासिक तलब व्यवस्था गर्नुपर्ने, सक्रिय पत्रकारिता गर्ने पत्रकारका लागि हरेक सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा निःशुल्क श्ययाको व्यवस्था गर्नुपर्नेलगायतका समेत माग राखिएको छ ।

यसैगरी सर्वोच्च अदालतले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा ल्याउन आदेश दिएर पनि अहिलेसम्म कार्यान्वयनमा नआएकाले तत्काल कार्यान्वयनमा ल्याउन समेत माग गरेको छ ।

यस्तै प्रेस काउन्सिलद्वारा गरिँदै आएको पत्रपत्रिकाहरुको वर्गीकरण वैज्ञानिक, पारदर्शी र न्यायोचित ढंगले गर्नुपर्ने, नियमित प्रकाशनमा आएको पत्रपत्रिकालाई एक वर्षमा प्रेस काउन्सिलको वर्गीकरणमा समावेश गर्नुपर्ने, साना लगानीका मिडियाको संरक्षण, प्रवद्र्धन तथा निरन्तरताका लागि विशेष योजना ल्याउनुपर्ने, समानुपातिक विज्ञापन प्रणाली लागू नभइन्जेलसम्मका लोक कल्याणकारी विज्ञापनलाई दोब्बर बनाउनुपर्ने तथा अनलाइन मिडियालाई व्यवस्थित गराई लोककल्याणकारी विज्ञापन वा आवश्यक सहुलियत प्रदान गर्नुपर्ने समेत माग गरिएको छ । -(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*