थाहा नगरको आयातभन्दा निर्यात बढ्यो, यस्तो छ कारण
–मञ्जरी बलामी
मकवानपुर, १४ माघ । मकवानपुरको थाहा नगरको आयात भन्दा निर्यात बढी रहेको थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले बताएका छन् । ‘कृषि पर्यटन पुर्वाधार, आर्थिक बिकासको मुल आधार’ भन्ने मुल नाराको साथमा कार्य गर्दै आएको थाहा नगर उद्योग बाणिज्य संघको प्रथम साधारण सभामा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष खत्रीले थाहा नगरपालिकामा आयात भन्दा निर्यात बढी रहेको बताएका हुन् ।
उत्तरी मकवानपुरको थाहानगरपालिकामा थाहा नगर उद्योग बाणिज्य संघको प्रथम साधारण सभा मार्फत उनले संघले आउँदो वर्षमा महोत्सव गर्ने कार्ययोजना रहेको समेत जानकारी गराए । नेपाल उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष चन्दीराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थाहानगरका नगर प्रमुख लबसेर बिष्टको विशिस्ट आतिथ्यता रहेको थियो । महासचिवको प्रतिबेदन प्रस्तुत गर्दै महासचिव सुरेन्द्रमान प्रधानले मकवानपुरको उत्तरी क्षेत्रमा निक्कै नै पर्यटकीय सम्भावनाहरु रहेको अवगत गराउँदै त्यसको सदुपयोगबाट नगन्य आम्दानी गर्न सकिने बताए । साथै उनले मकवानपुर उद्योग बाणिज्य संघमा १ सय भन्दा बढी सदस्य रहेको जनकारी गराए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्डीराज ढकालले थाहानगरपालिका असीमित पर्यटकिय सम्भावना भएको नगर भएका कारण नेपालको दोस्रो पर्यटकीय गन्तव्य हुनुपर्नेमा जोड दिए । साथै उनले सबैले चाँडै नै सक्दो काम गर्नु पर्ने बताए । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले ब्यवसायीहरुको लागि निक्कै नै धारिलो कानुन भएका कारण त्यस्ता कानुनलाइ स्पष्ट गरिनु पर्ने कुरामा जनप्रतिनिधिहरुले सिक्नु जरुरी रहेको बताए ।
कार्यक्रममा सदस्यहरुको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै धर्मलाल प्रधानले सदस्यहरुको लागि निरन्तर रुपमा कार्य गर्दै आएकोमा त्यो नै सदस्यहरुको लागी राम्रो बिषय भएको र शनिबार एकदिन बिदा गर्ने प्रस्ताव आफुलाइ उपयुक्त लागेको बिचार समेत व्यक्त गरे । त्यसै गरि महिला उद्यमि बिकास समितिको प्रतिबेदन प्रस्तुत गर्दै थाहा नगर महिला उद्यमि सभापति आरती श्रेष्ठले थाहा नगर उद्योग बाणिज्य संघले महिला उद्यमको लागी सहकार्य गरेकोमा धन्यवाद दिँदै हाल महिलाहरुको लागी सिलाइ कटाइ तालिम संचालन भैरहेको समेत जानकारी गराए ।
वडा अध्यक्षहरुको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै थाहा नगरपालिका वडा न ३ का अध्यक्ष राजेश केसिले थाहा नगरमा विभिन्न तालिमहरु हुदै गर्ने र सेलाउदै जाने गरेको भन्दै यसको कारण खोजी निरन्तरता दिनु पर्नेमा जोड दिए । साथै उनले थाहा नगरमा महोत्सव गर्ने कार्य फेसन जस्तै भएको र महोत्सवमा थाहा नगरको पहिचान आलु जस्तो तरकारीको प्रचार गर्नु पर्ने बताए ।
शुभकामना मन्तव्य व्यक्त गर्दै मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण कुमार अग्रवालले थाहा नगरमा यतिधेरै उत्पादन हुँदा समेत सितभण्डार नभएका कारण आफुले त्यसको लागी मकवानपुर उद्योग बाणिज्य संघसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले थाहा नगर उद्योग बाणिज्य संघले पनि आवाज उठाउन आग्रह गरे । ‘नेपाल नामको सिलापत्र नेपाल भर छ भने बज्रबाराहीमा मात्र भएकाले त्यसको संरक्षण गर्ने जिम्मा पनि हाम्रै संघलाइ दिएको कुरा पनि जानकारी दिन चाहन्छु’ महासचिव प्रधानले कार्यक्रममा भने ।
साथै बन्द सत्र मार्फत अध्यक्षको नीति तथा कार्यक्रम, कोषाध्यक्षको आर्थिक प्रतिबेदन र महासचिवको प्रगति प्रतिबेदन पास गरेको छ भने बिधान संसोधन सहित हप्ताको १ दिन पसल बन्द गर्ने निर्णय समेत गरिएको छ । जस अनुसार अब थाहा गनरमा फागुनको पहिलो हप्ताबाट सेवा ब्यवसायहरु (होटल, मेडिकल, तरकारी पसल, तरकारी तथा फलफुल पसल) बाहेक अन्य सबै ब्यवसायहरु बन्द गर्ने निर्णय गरेको छ । यदि कुनै पनि ब्यवसायीले अटेर गरेमा पहिलो पटक चेतावनी दिने, दोस्रो पटक ५०० रुपैयाँ जरिवाना, तेस्रो पटक १००० रुपैया जरिवाना र चौथो पटक भने थाहा नगर उद्योग बाणिज्य संघले दिने सेवा सुबिधाबाट नै बञ्चित गरिने महासचिब सुरेन्द्रमान प्रधानले बताए ।
कार्यक्रममा थाहा नगरपालिकाका विभिन्न संघसङ्स्थाका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी, ब्यवसायी, तथा सन्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
