थाहा नगरमा पुनर्लाभ, पुनस्थापन र पुननिर्माण हस्तान्तरण
-मञ्जरी बलामी
थाहा नगर, १३ माघ । उत्तरी मकवानपुरको थाहा नगरमा पुनर्लाभ, पुनस्थापन, पुननिर्माण हस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । टियरफण्डको सहयोग तथा राडो नेपाल, सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्च, बहुआयामिक केन्द्र, र बाल कल्याण सामाजको कार्यान्वयन तथा थाहा नगरपालिकाको समन्वयमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको सभाध्यक्षता तथा प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ का विरोध खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । विशिष्ट अतिथि प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ क की कुमारी मोक्तन र राष्ट्रिय पुन निर्माण प्राधिकरण एज्युकेटिभ मेम्बर डाक्टर हरिराम पराजुली रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ का खतिवडाले सुचनाको अभावका कारण पनि प्राप्त गर्नु पर्नु पर्ने सेवा सुविधाबाट बञ्चित हुनु पर्ने बताए । उनले पुन निर्माणमा सम्बन्धित निकायले अल्झो टार्ने काम गर्न नहुने, आर्थिक पक्षमा अनियमितता हुन नहुने र सबैले ईमान्दारिताका साथ काम गर्नु पर्नेमा जोड दिए ।
उनले कानुन थाहा नहँुदा गर्न सकिने काम पनि नभएको बताए । टियरफण्डले आग्रा र टिस्टुङमा खानेपानी तथा सरसफाई कार्यक्रम तर्फ खानेपानी योजना मर्मत तथा संभार, नयाँ खानेपानी योजना, लैिङ्गक मैत्री स्नान गृह र घरायसी शौचालय निर्माण लगायतका कार्यक्रमहरु गरेको छ । यस्तै आवास तर्फ मिस्त्री तालिम (डेमो हाउस) नमुना आवास, अनुदान आवास, सीप बिकास तालिम, सरकारबाट थप अनुदान प्राप्त लगायतका कार्यक्रमहरु गरेको छ ।
कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य सुमन कार्की, ७ का नै वडा अध्यक्ष सनम सिंह मोक्तान वडा नं. ११ का वडा अध्यक्ष किरणमान बल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रताप विष्ट, नेकपा माओवादी केन्द्र थाहा नगरका ईन्चार्ज विष्णु विष्ट, नेकपा एमाले जिल्ला कमिटिका उपाध्यक्ष बद्री लम्साल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
