एमाले कार्यकर्ताको चर्को आलोचनापछि कोमल ओलीले मुख खोलिन्
हेटौडा । लामो समय कम्युनिष्ट पार्टी र एमालेभित्र योगदान पुर्याएका नेता कार्यकर्ताहरुलाई पाखा लगाएर गायिका कोमल वलीलाई राष्ट्रियसभाको सदस्यमा सिफारिस गरेको भन्दै एमालेभित्र चर्को आलोचना भइरहेको छ । प्रदेश नं ५ बाट राष्ट्रिय सभा सदस्यमा सिफारिसमा परेकी वली निर्विरोध निर्वाचित हुने प्रक्रियामा छिन् । पार्टीभित्र दशकौं योगदान पु¥याएका बरिष्ठ नेता तथा कार्यकर्ताहरुलाई किनारा लगाएर एमाले अध्यक्ष केपी ओलीले कोमल वलीलाई राष्ट्रियसभाको उम्मेदवार बनाएको भन्दै एमाले समर्थकहरुले सामाजिक सञ्जालमा चर्को आलोचना गरिरहेका छन् । एमाले समर्थकहरुको चर्को आलोचनामा परेकी ओलीले विहिवार राति सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा मुख खोल्दै आफूमाथि भइरहेको आलोचनालाई सहज रुपमा लिएको बताएकी छिन् । वलीले सामाजिक सञ्जालमा ट्वीटरमा स्टाटस लेख्दै भनेकी छिन्, ‘पार्टीले मलाई राष्ट्रिय सभाको उम्मेदवारीको टिकट दिएपछी, न्यु मिडिया (सामाजिक सञ्जाल) मा मेरो समर्थन गर्ने र तर्क गर्ने सम्पूर्णलाई मनैदेखि धन्यवाद ! तपाईंहरुको साथ देशको हितमा काम गर्न मेरा लागि ठूलो भरोसा हो । आलोचना गर्नेहरुलाई पनि धन्यवाद, कम्तिमा आलोचना गरेर मलाई मनमा राख्नुभयो, सम्झनुभयो ।’ ओलीले आफूविरुद्ध सामाजिक सञ्जालमा आएका कुरालाई स्वीकार गर्दै आगामी दिनमा देशको पक्षमा काम गरेर देखाउने आशय समेत व्यक्त गरेकी छिन् ।

विहिवार नै वलीले अर्को सामाजिक सञ्जाल फेसबुकमा लामो प्रष्टिकरण लेख्दै एमालेले दिएको जिम्मेवारी पूरा गर्न हर प्रकारबाट तयार रहेको प्रष्ट पारेकी छिन् । उनले भनेकी छिन्, ‘म नेकपा एमाले र वाम गठवन्धनको तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारको रुपमा उभिएकी छु । पार्टीका आदरणीय नेताहरुले मलाई विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई जीवित राख्ने चुनौती मेरो अगाडि छ । पार्टीले मलाई इज्जत दिएको छ, अब आफ्ना नेता तथा कार्यकर्ता, जनता र देशलाई त्यो भन्दा बढी इज्जत र सम्मान गर्ने जिम्मेवारी मेरो काँधमा छ । म यो चुनौती स्वीकार गर्छु र त्यसका लागि योग्य ठान्ने सबै श्रद्धेय नेतागणहरु तथा समस्त पार्टी पंक्तिलाई नमन गर्न चाहन्छु । तर, यो अवसर मैले चिट्ठामा पाएको होइन । बरु यो त एउटा जिम्मेवार राजनीतिक दलले एक देशभक्त नागरिकलाई देशको लागि केही गर भनेर दिएको यो जिम्मेवारी हो । किनकी मलाई राम्रोसंग जानकारी छ, कलाक्षेत्रबाट राजनीतिमा सक्रिय हुन खोज्ने म दुनियाँको पहिलो वा अन्तिम पात्र होइन । ८० को दशकमा अमेरिकी राष्ट्रपतिको रुपमा दुनियाँमा आफ्नो प्रभाव जमाउने रोनाल्ड रेगनको पृष्ठभूमी राजनीति थिएन । लामो समय रेडियोमा काम गरेका उनले हलिउडको फिल्मी क्षेत्रमा समेत आफ्नो विशिष्ट स्थान बनाएका थिए । उनी रेडियकर्मी थिए, एउटा कलाकार थिए । त्यही कारणले उनको दल र त्यहाँका जनताले राजनीतिक रुपमा अयोग्य भनेनन् । बरु, उनको क्षेमतालाई राष्ट्रका लागि प्रयोग गर्ने बाटो रोजे । म सचिन तेण्डुलकरको नाम पनि यहाँ उल्लेख गर्न चाहन्छु । राजनीतिमा सचिनको भुमिका के थियो भनेर कसैले सोध्यो भने स्वयम सचिनसंग पनि यसको जवाफ नहोला । तर उनलाई त्यहाँको राजनीतिक व्यवस्थाले सांसद बनाएको छ । उनी अहिले पनि त्यहाँको माथिल्लो सदन राज्यसभाका बहालवाला सांसद् हुन । खेलाडी मात्र किन ? सिनेक्षेत्रमा ख्याती कमाएकी जया प्रदा, जया वच्चन, रेखा, सवाना आजमीजस्ता कलाकारहरुलाई पनि त्यहँको राजनीतिक दल र जनताले संसदमा पु¥याएका छन् । जावेद अख्तरजस्ता गीतकारले पनि सांसदको रुपमा देशको सेवा गर्ने अवसर पाएका छन् । अझ टेलिसिरियिलमा प्रशस्त नाम कमाएकी स्मृति इरानीलाई नरेन्द्र मोदीको भाजपाले कांग्रेसका राहुल गान्धीविरुद्ध उठाएको थियो । उनले चुनाव हारिन्, तर उनको साहसलाई कदर गरेर भाजपाले उनलाई राज्यसभामा निर्वाचित गराएको छ । उनी अहिले भारतको मन्त्री पनि भएकी छिन् । के त्यसले भारतको लोकतन्त्र कमजोर भएको छ ? के त्यहाँको राजनीतिक दलको प्रतिष्ठा गुमेको छ ? म त भन्छु, त्यसले महिलाको आवाज बलियो भएको छ । कलाक्षेत्रको सम्मान बढेको छ । हामीकहाँ पनि आज एउटी नारीको आवाजलाई, एउटी कलाकारको संगीतलाई र एउटा सचेत नागरिकको इच्छाशक्तिलाई हाम्रो पार्टीले सम्मान गरेको छ, त्यसले हाम्रो राजनीतिलाई बलियो बनाउनेछ । नेताहरुले आफ्नो जिम्मेवारी पुरा गर्नुभएको छ । कार्यकर्ता तथा जनप्रतिनिधिहरुले अब २४ माघमा मतदान गरेर आफ्नो जिम्मेवारी पुरा गर्नुहुनेछ । अब मैले पूर्ण इमान र अनुशासनका साथ आफ्नो जिम्मेवारी पुरा गर्नेछु । यो निर्णय गर्ने नेताहरुको र त्यसलाई समर्थन गर्ने कार्यकर्ता तथा जनताको शीर निहुरिन दिने छैन । यो मेरो वाचा हो । यो वाचामा विश्वास गर्न, यो प्रदेशलगायत देशैभरी वाम गठवन्धनका उम्मेदवारहरुलाई निर्वा्चित गराउन म सम्पूर्ण मतदाता जनप्रतिनिधिहरुलाई हार्दिक आग्रह गर्दछु ।’
