हेटौँडा–सिस्नेरी–काठमाडौँ मार्ग खुल्यो, यसकारण भयो ६ दिन बाटो बन्द
मकवानपुर, ११ माघ । माघ ५ गतेको सवारी दुर्घटनाका कारण बन्द भएको हेटौँडा–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ पुग्ने बाटो पूनः सुचारु भएको छ । माघ ५ गते शुक्रबार बेलुकी दक्षिणकाली नगरपालिका वडा नम्बर ५ मा सवारी दुर्घटनामा परि सोही नगरपालिकाको वडा नम्बर ९ मा बसोबास गर्ने डाक्टर एलिजा भण्डारीको मृत्यू भएपछि स्तब्ध बनेको नगरवासीहरुले भाडाका टाटासुमोलाई चल्न नदिने भन्दै बाटो बन्द गराएका थिए ।
अकल्पनीय घटनापश्चात नगरवासीले बाटो बन्द गराउन पाउनुपर्ने भन्दै स्वस्फुर्त रुपमा बाटो बन्द गराएपछि जनप्रतिनिधिहरुले समेत तत्कालको घटनालाई मध्यनजर गर्दै अप्रिय घटना हुन नदिन नगरवासीको मागलाई साथ दिएका थिए । त्यसयता बन्द अवस्थामा रहेको बाटो दक्षिणकाली नगरपालिकाको पहलमा बिहीबारबाट संचालनमा आएको हो ।
दक्षिणकाली नगरक्षेत्रमा आवतजावत गर्ने टाटासुमो, टिपर लगायतका सवारीलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि नगरपालिकाको वडा नम्बर ५ का अध्यक्षको अध्यक्षतामा उप–समिति गठन गरि त्यसको कार्यान्वयनमा जोड दिइएको दक्षिणकाली नगरपालिकाले जनाएको छ । साथै सबै सवारीलाई आजकै मितिबाट संचालन गर्न र कसैले रोकतोक नगरी शान्तिको वातावरण कायम गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले हाल बल्खुबाट संचालनमा रहेको टाटासुमोलाई दक्षिणकाली नगरपालिका वडा नम्बर ७ को कार्यालय नकिजकै रहेको फ्याकुल डाँडामा काउन्टर तथा पार्किङको व्यवस्था मिलाई सोही स्थानबाट संचालन गरिने र टाटासुमो लगायतका सवारी साधनलाई तिव्र गतिमा संचालन हुन नदिई समय निर्धारण गरि व्यवस्थित रुपमा उप–समिति गठन गरिएको छ ।
उप–समितिमा वडा नम्बर ५ का वडा अध्यक्षलाई अध्यक्ष तोकिएको छ । उपसमितिमा नगरका वडा १ देखि ५ तथा ६ देखि ९ का वडाअध्यक्षहरु, ईलाका प्रहरी कार्यालय फर्पिङ, ईलाका प्रशासन कार्यालय फर्पिङ, महानगरिय प्रहरी प्रभाग फर्पिङ, दक्षिणकाली बससेवा समिति फर्पिङ, जीप संचालन तथा समन्वय समिति र ट्रिपर संचालन समिति सदस्य रहने बताइएको छ ।

दक्षिणकाली नगरपालिकाले जारी गरेको विज्ञप्ति
