हेटौँडाको पदमपोखरीमा बाटोको हरिबिजोग, यसकारण बनेन कुख्रेनीको पुल
–चन्द्र घलान
मकवानपुर, ११ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ र १३ को सिमानामा पर्ने कुख्रेनी खोलामा दैनिक रुपमा आवतजावत गर्नको लागि निकै नै समस्या उत्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ वनस्पति र हेटौंडा–९ लामसुरेलाई जोड्ने गरी कुख्रेनी खोलामा निर्माण हुने भनिएको पक्की पुल निर्माण कार्यमा ढिलाई भएसँगै यहाँका बासिन्दाहरु हेटौँडासम्मको यात्राको लागि थप समस्यामा परेका हुन् ।
बर्षाका समयमा बाढीका कारण बाटो रोकिनु त यहाँको सधैँको समस्या नै हो तर हिउँदमा समेत मोटरसाईकल, स्कुटी लगायतका साधनहरु चल्न अप्ठ्यारो भएको पदमपोखरीवासीहरु बताउँछन् । वि.सं. २०७३ माघ १२ गते औपचारिक रुपमा पुल निर्माण कार्यको विधिवत सुरुवात गरिएता पनि अहिलेसम्म पुल बनेको छैन । २०७४ असोज २१ गते पुरा हुने गरी निर्माण सुरुवात गरिएको पुल निर्माण विभिन्न कारणले पुरा हुन नसकेको हो ।

पुलको शिलान्याश गर्दै अनन्त पौडेल
पदमपोखरीमा तुलनात्मक रुपमा थोरै सडकको स्त्तरोन्नत्ति भए पनि पदमपोखरी अहिले पनि जस्ताको तस्तै छ । केही वर्ष अगाडि सिमेन्ट रोडदेखि पदमपोखरीको बुद्ध चोक र त्यसको केही वर्षपछि बुद्धचोकदेखि बेलडाँडासम्म बनेको वटासिल पिचको दुर्गति पदमपोखरीवासीले हेरेर बस्न बाध्य छन् ।
पुल निर्माण अलपत्र हुनुका साथै बाटोको खाल्डाखुल्डीमा जसोतसो सवारी हाँक्दै आएका पदमपोखरीवासीहरुले अहिले पुल निर्माणस्थल छेवैमा भएका बालुवा प्लान्टमा बालुवा धुन प्रयोग गरिएको पानी सडकमै छोड्दा थप समस्यामा परेका छन् । बालुवा धुन प्रयोग गरिएको पानी बाटोमा छोडिएपछि नियमित रुपमा हेटौँडा आउने जानेक्रममा थप समस्यामा परेको हेटौँडा १२ निवासी विष्णु थापाले बताए । ‘बालुवा चाल्नेहरुले पनि बालुवा धोएको पानी सडकमै पठाउँछन्, यसबाट स्कुटी र मोटरसाईकल चलाउनलाई समेत समस्या परेको छ ’, थापाले गुनासो गरे । ‘सधैँ भिजेर कति स्कुटी चलाउनु ? पुल बनेको भए समस्या हुँदैनथ्यो । ’
यो समस्या उनको मात्रै होईन । पुल नबनेकै कारणले गर्दा हिमपाईप राखेर बनाइएको बाटोमा कतिपटक मोटरसाईकल अनियन्त्रित भइ पल्टिएको प्रत्यक्षदर्शीहरु बताउँछन् । सो बाटो आवतजावत गर्नेहरु समेत हैरान भएका छन् ।

पुल निर्माणस्थल नजिकै रहेको बालुवा प्लान्टहरु
‘बालुवा प्लान्टको समस्यालाई हटाउने प्रयासमा छौँ’–वडाअध्यक्ष
यस विषयमा तु खबरलाई प्रतिक्रिया दिँदै हेटौँडा १३ का वडाअध्यक्ष मनोजकुमार वाईबाले विभिन्न कारणले पुल निर्माणमा ढिलाई भए पनि यो सुस्त गतिमा सुचारु भइरहेको बताए ।
हेटौँडा १३ का स्थानीयवासीले नै पुल निर्माण स्थलको छेउमा बालुवा प्लान्ट संचालन गरेका कारण यो समस्या आएको वडाअध्यक्ष वाईबाको ठहर छ । यस विषयमा स्थानीयको गुनासो आएको कारण बालुवा प्लान्ट संचालन गरेका स्थानीयसँग छलफल गरिरहेको तर आफ्नो मात्र एकल पहलले त्यो कार्य सफल हुन नसकेको उनले बताए । ‘मैले मात्र पहल गर्दा व्यक्तिगत असहयोग भएको महशुस गरेको छु, त्यसैले बालुवा प्लान्ट संचालन गर्ने स्थानीयले नै पदमपोखरीवासीको समस्यालाई बुझेर समस्या समाधानको बाटो खोलिदिए हामीलाई पनि काम गर्न सहज हुन्थ्यो’ उनले भने । ‘ वडावासीले नै सहयोग नगरेमा हामीलाई पनि काम गर्न गाह्रो हुन्छ, कसैको व्यक्तिगत निजी प्लान्टका कारण पुरा गाउँलाई नै असर पार्ने काम गर्नुहुँदैन भन्ने कुरा वडावासीले बुझ्नुपर्छ ।’

निर्माणाधिन पुल
‘सिमेन्ट कुन प्रयोग गर्ने भन्ने कुरामा नै विवाद’
वडा अध्यक्ष वाईबाले पुल निर्माणका विषयमा पुल निर्माण सरोकार समितिका संयोजक सोविन थिङसँग आफुले छलफल गरेको बताएका छन् । बिचमा प्राविधिक गडबडीका कारण रोकिएको पुल निर्माण सुस्त गतिमा सुरु भएको उनले जानकारी दिए ।
साथै पुल निर्माणमा कुन सिमेन्ट प्रयोग गर्ने भन्ने कुरामा पनि विवाद भएको उनले तु खबरलाई सुनाए । केही पक्षले हेटौँडा सिमेन्ट नै प्रयोग गर्नुपर्छ भन्ने धारणा राखेका छन् भने कतिपयले सहुलियत पाईने भन्दै त्रिशक्ति सिमेन्ट प्रयोग गर्ने अडान राखेको उनले बताए । तर अहिले भने त्यो विवाद मिलीसकेको छ । मुख्यरुपमा प्राविधिक त्रुटिकै कारण पुल निर्माणको कार्य रोकिएको हो ।

बालुवा प्लान्टका कारण सडकमा बगेको पानी
के–के भयो काम ? किन भयो ढिलाई ?
पुल निर्माण सरोकार समितिका संयोजक सोविन थिङले तु खबरलाई जानकारी दिए अनुसार प्राविधिक समस्याका कारण पुल निर्माणमा ढिलाई भएको हो । यस अघि १०३ मिटर लम्बाई र ९ मिटर ९० सेन्टीमिटर चौडाईको पुल भनेर नक्साङ्कन गरिए पनि त्यसमा प्राविधिक त्रुटि भएको र अहिले १०३ मिटरको साटो ११० मिटर लम्बाई भएको नयाँ नक्सा बनेको उनले बताए ।
नक्सामा नै त्रुटि भएपछि त्यसलाई सच्याउने क्रममा नै पुल निर्माणको काम ढिला भएको र बिचमा केही आन्तरिक कारणहरुले पनि पुल निर्माणमा ढिला भएको उनको भनाई छ । उनका अनुसार थप भएको लम्बाईका आधारमा आवश्यक रड ल्याइसकिएको छ र यही माघ १५ गतेबाट काम सुचारु हुने छ । संयोजक थिङले बालुवा प्लान्टका बारेमा वडा अध्यक्षसँग समेत छलफल गरिसकिएको बताए ।
‘मलाई जानकारी भएअनुसार नियमलाई मान्ने हो भने पुल निर्माणस्थलभन्दा ३ सय मिटर वरपर कुनै पनि उत्खननका कार्य गर्न मिल्दैन । तर यहाँ नजिकै बालुवा प्लान्ट छ , जसका कारण सबै समस्यामा छन् । ’ उनले भने, ‘यस विषयमा मैले वडाअध्यक्ष ज्यूसँग कुरा गरेको छु, हामी सरोकार समिति मात्र भएकोले बालुवा प्लान्टलाई नै हटाउन मिल्ने अधिकार छैन, यो काम वडाले गर्नसक्छ ।’
संयोजक थिङले पुल निर्माणस्थलभन्दा तल रहेको कुष्माण्ड सरोवर त्रिवेणी धामको कारण वर्षेनी पदमपोखरी तर्फको जंगल र जग्गा क्षयीकरण भइरहेको समस्या समेत सुनाए । ‘कुष्माण्ड हाम्रो सम्पत्ति हो तर कुष्माण्डतिरमात्र बार लगाउँदा कुख्रेनी खोलाले पदमपोखरीतर्फ मात्र असर गरिरहेको छ , यसमा सबैको ध्यान जान जरुरी छ,’ उनले भने ।

पदमपोखरीको बिग्रिएको खाल्डाखुल्डी बाटो
संयोजक सोविन थिङका अनुसार जमिनबाट ३.७५ मिटर खनेर ढलान गरेर सकिएको छ भने रड बिछाएर वाल लगाउने कार्य पनि भईरहेको छ । अहिले सम्म करिब ५० मिटरभन्दा बढीको पर्खाल लगाईसकेको पनि उनले बताए । पुलमा ७ मिटर चौडाईको बाटो र बाँकी भागमा यात्रु हिँड्ने भाग रहने उनले बताए ।
‘ प्राविधिक त्रुटि सच्चियो अब पुल निर्माण द्रुत गतिमा हुन्छ’–निर्माणकर्ता
पुल निर्माणको मुख्य रेखदेख गरिरहेका पुल निर्माणकर्ता (ठेकदार) मध्येका मुख्य फुर्वा दोर्जे लामाले पनि पुल निर्माणका क्रममा प्राविधिक त्रुटि झेल्नुपरेका कारण आफुहरुले काम ढिला शुरु गर्नुपरेको बताए । उनले पुलको नक्सा नै पहिलेभन्दा हेरफेर भएकोले प्रशासनिक कार्य र नक्सा पूनः नयाँ बनाउनु पर्ने भएका कारण तोकिएको समयमा पुल निर्माण गर्न नसकी बिचैमा रोक्नुपरेको यथार्थ सुनाए ।
‘अहिले ड्रईङ समेत सच्चेर आईसकेको छ , सम्भवत अब माघ १५ गतेदेखि अथवा ढिलामा माघ २० गतेदेखि हाम्रो काम द्रुत गतिमा हुन्छ ।’–उनले भने, ‘अब पहिलेको जस्तो प्राविधिक कारणले पुल निर्माण रोकिने सम्भावना छैन ।’

बालुवा प्लान्टमा थुपारिएको बालुवा
‘पुल निर्माणको सुरुवात र क्रमबद्ध योजना अलपत्र’
स्विस बिकासको प्राविधिक सहयोगमा नेपाल सरकारको प्रत्यक्ष लगानीमा पुलको निर्माण हुन लागेको हो । ५ करोड ९८ लाखको लागत अनुमान भएपनि टेण्डर प्रकृया अनुसार नागर्जुन शंकर मालिका जेबीले ४ करोड ६३ लाखमा निर्माणको जिम्मा लिएको थियो । १०३ मिटर लम्बाई र ९ मिटर ९० सेन्टीमिटर चौडाइ रहेको पुल २०७४ साल असोज २१ गते सम्पन्न हुने गरी निर्माण हुने सम्झौता भएको भएता पनि संयोजक थिङका अनुसार अहिले यसको लागत मुल्य बढ्नुका साथै लम्बाईमा समेत फेरबदल भएको छ । निर्माणकर्ता लामाका अनुसार अब प्राविधिक त्रुटि सच्चिएका कारण पुल निर्माणले तिव्रता पाउने छ ।
वि.सं. २०७३ माघ ७ गतेदेखि अनौपचारिक रुपमा पक्की पुलको निर्माण हुने गरी माघ ८ गते बिहान बसेको पदमपोखरी पुल निर्माण सरोकारवालाहरुको बैठकले पुरानो तदर्थ समिति विघटन गरी सोविन थिङको संयोजकत्वमा २५ सदस्स्यीय नयाँ समिति पुनर्गठन गरेको थियो ।

पदमपोखरीको बिग्रिएको खाल्डाखुल्डी बाटो
वि.सं. २०७३ साल माघ १२ गते बुधबार पक्की पुल निर्माणको विधिवत सुरुवात गरिएको थियो । तात्कालिन मकवानपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित व्यवस्थापिका सांसद अनन्त पौडेलले पुलको शिलान्यास गरेका थिए भने जिल्ला विकास समिति मकवानपुरले शिलान्यास कार्यक्रमको आयोजना गरेको थियो ।

निर्माणाधिन पुल

