मकवानपुर बहुमुखी क्याम्पसको वार्षिक उत्सवमा खेलकुददेखि गायन प्रतियोगितासम्म

तु खबर संवाददाता
२०७४ माघ १०, बुधबार १७:५१

हेटौँडा, १० माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियनले खेलकुद तथा विविध कार्यक्रमहरु गर्ने भएको छ । वार्षिक उत्सवको अवसरमा स्ववियुले माघ १७ गतेबाट विभिन्न कार्यक्रम आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

उत्सवका अवसरमा रक्तदान कार्यक्रम, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, खाद्यान्न वितरणका साथै भलिबल, फुटबल, ब्याटमिन्टन, टेबल टेनिस, दौड, क्रिकेट, म्युजिकल चेयर, हाजिरी जवाफ, सटपुट, चेसलगायत विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने स्ववियु अध्यक्ष कुमारबहादुर केसीले जानकारी दिए ।

यसैगरी स्ववियुले क्याम्पस सरसफाई, तिज विशेष कार्यक्रम, प्राध्यापकहरुको सम्मान, बाढीपिडीतलाई राहत संकलन, विद्यार्थी स्वागत कार्यक्रम, बिबिएम सेभेन ए साइड फुटबल प्रतियोगिता लगायत विभिन्न कार्यक्रमको आयोजना गरीसकेको छ । त्यस्तै स्ववियुको पहलमा क्याम्पसमा इन्टरलक बाटो निर्माण, इ लाईब्रेरी सञ्चालन, छात्रबृत्तिको नयाँ मापदण्ड निर्धारण, भलिबल, ब्याटमिन्टन, टेबल टेनिस कोर्ट निर्माण लगायतका कार्य भएको केसीले बताए ।

स्वबियुको पहलमा आगामि दिनमा बोटानिकल गार्डेन निर्माण, स्ववियु पार्क निर्माण, प्रशासनिक भवनको अगाडि ट्रष्ट निर्माण, फ्रि वाईफाईको ब्यबस्था, २० लाख बरारबको पुस्तक खरिद प्रकृया अगाडि बढाइने केसीको भनाई छ । त्यस्तै प्रतियोगिता सम्पन्न भएको १५ दिन भित्र सम्पूर्ण बिजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरिने स्ववियु सचिव आकाश अधिकारीले जानकारी दिए । कार्यक्रममा मकवानपुर क्याम्पसमा अध्ययनरत फुटबल खेलाडी सपना बस्नेत, हक्कीका खेलाडी गोबिन्द अधिकारीलगायत अन्य राष्ट्रिय खेलाडीलाई समेत सम्मान गरिने अधिकारीले बताए । प्रतियोगिता सम्पन्न गर्न करीब ४ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको स्ववियुले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*