सामाजिक संस्थाको जवाफदेहिता बृद्धि गर्न सामाजिक परीक्षण
हेटौँडा, ९ माघ । नागरिक समाज संस्थाहरुको आन्तरिक सुशासनमा सुधार ल्याउँदै जवाफदेहिता बृद्धि गर्ने उद्देश्यका साथ आज (मंगलबार) दुई संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रम भएको छ ।
विगत लामो समयदेखि दलित महिलाको अधिकारको क्षेत्रमा काम गर्दै आईरहेको दलित महिला संघ (फेडो) मकवानपुर र अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियाशील आपाङ्ग सरोकार केन्द्र मकवानपुरको सामाजिक परीक्षण कार्यक्रम भएको हो । कार्यक्रममा दलित महिला संघ मकवानपुरकी कोषाध्यक्ष मालती विश्वकर्मा र आपाङ्ग सरोकार केन्द्र मकवानपुरका सचिव शान्तिमाया हिम्डुङले सम्बन्धित संस्थाको कार्यक्रम, बजेट र उपलब्धी, चुनौती जस्ता विषयमा प्रस्तुतीकरण दिनुभयो । दुई संस्थाको प्रस्तुतिमाथि सहभागीहरुले जिज्ञासा र सुझाव दिएका थिए ।

तस्बिर–शुभलक्ष्मी प्रभा
कार्यक्रमको प्रमुख अतिथि रहनुभएका हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले स्थानीय तह र नागरिक समाज संस्था एकाकार भएर, सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । स्थानीय तहसँग बजेट न्यून भएकोले र आधारभूत विकासका काममै हामी पछाडी रहेकोले लक्षित वर्गका कार्यक्रम सञ्चालन चुनौतीको विषय रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रमको विशेष अतिथि रहनुभएका महिला तथा बालबालिका कार्यालय मकवानपुरका प्रमुख विष्णुकुमारी लामिछानेले अधिकारको क्षेत्रमा लागेका नागरिक समाज संस्थाहरु विपन्न र सेवा सुविधाबाट वञ्चित समुदायसम्म पुगेर काम गर्न अनुरोध गर्नुभयो । उहाँले लक्षित वर्गका व्यक्तिहरुले बजेट र भत्ता माग गर्नुभन्दा पनि सीप र क्षमता विकासका लागि सरकार वा नागरिक समाज संस्थाबाट सहयोग माग्नुपर्ने धारणा राख्नुभयो । आफै सक्षम भएर काम गर्ने चाहना राख्ने हो भने त्यस्ता व्यक्तिहरुको लागि स्थानीय तह वा नागरिक समाज संस्थाले क्षमता र सीप विकासका कार्यक्रमहरुमार्फत सहयोग गर्नुपर्ने प्रमुख महिला विकास अधिकृत लामिछानेको भनाई थियो ।
कार्यक्रममा दलित महिला संघ मकवानपुरका अध्यक्ष पवित्रा विश्वकर्मा, आपाङ्ग सरोकार केन्द्र मकवानपुरका अध्यक्ष जमुना तितुङ, साउथ एसिया पार्टनरसिप नेपाल (साप–नेपाल)का जनक कार्की लगायतले आफ्नो धारणा व्यक्त गर्नुभयो । साउथ एसिया पार्टनरसिप नेपाल (साप–नेपाल)ले एफएचआई र युएसएआईडीको सहयोगमा कार्यक्रम सञ्चालन गरेको हो । सामाजिक जवाफदेहिता परियोजना अन्तर्गत यो कार्यक्रम सञ्चालन हुँदै आएको साप नेपालले जनाएको छ । गैर सरकारी संस्था महासंघ नेपालको सभाकक्षमा सञ्चालन भएको कार्यक्रममा गैसस महासंघ मकवानपुरका सचिव बोल बहादुर कार्कीको अध्यक्षता रहेको थियो ।
