भिमफेदीको विकासकालागि दिउँसै सपना देख्न अध्यक्ष हिदम लामाको आग्रह
भिमफेदी, ९ माघ । मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भिमफेदीको विकासको लागि यहाँका जनप्रतिनिधिहरुले राति सुत्दा होईन दिउँसै सपना देख्न जरुरी रहेको बताएका छन् ।
गाउँपालिकाले सञ्चालन गर्ने योजनाहरुको नियमित, ब्यबस्थित तथा पारदर्शी बनाउन भिमफेदी गाउँपालिकाको १ देखी ९ वडा तहमा निर्माण उपभोक्ता पदाधिकारीबिच प्रशिक्षण अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले भिमफेदीको विकासको लागि सबै अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । अध्यक्ष लामाले आफ्ना निकायका सबै जन प्रतिनिधिलाई राति सपना देख्न छाडी दिउँसै सपना देख्नुपर्ने बताएको भिमफेदीबाट संचारकर्मी सुरेन्द्रराज थिकेले जानकारी दिए ।
मंगलबार बिहान भएको कार्यक्रममा बोल्दै लामाले अबको गाउँ संरचना विकास भनेको पुल पुलेसा तथा बाटोघाटो बनाउने मात्र सोचमा नराखी आयस्तर बृद्धि,औसत आयु बृद्धि ,शिक्षामा पहँुच तथा बाल मृत्यु दर न्युन गरी पोषण कार्यक्रमलाई बढावा दिने योजना बन्नु पर्ने बताए ।
कार्यक्रममा सहजिकरणका लागी प्राबधिक इन्जिनियर ललीत ,सहायक इन्जिनियर जयराम चौलागाई,लेखा सहजकिरण लेखापाल त्रिलोक थापा तथा योजना अध्यावधिक सम्बन्धि सहजकिरण गाउँपालिकाका योजना प्रमुख बद्रि सापकोटाले गरेका थिए ।
महिला तथा बालबालिका संयोजकले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता भिमफेदी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सिताराम थापाले गरेका थिए । कार्यक्रममा स्वागत ५ नं. वडा अध्यक्ष जहार सिं लामाले गरेका हुन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्बती राना ,जन प्रतीनिधि , उपभोक्ता निर्माण समितिका पदाधिकारी, विभिन्न विकास साझेदारी संघ संस्थाको प्रतीनिधिको उपस्थिति रहेको थियो ।
