हेटौँडामा सवारी व्यवस्थापन समिति गठन, अटो र मयुरीको भविष्य कता ?
मकवानपुर, ८ माघ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा सोमबार हेटौडा नगरमा सवारी व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीसँग अन्तरक्रिया भएको छ । अन्तरक्रियाबाट ७ सदस्सीय सवारी व्यवस्थापन समिति समेत निर्माण गरिएको छ ।
समितिमा संघका सचिव काव्यमणि अधिकारी संयोजकत्व तथा नारायणी यातायात व्यवसायी संघका सचिव गुणराज घिमिरे सहसंयोजक रहेका छन् । साथै सदस्यमा कृष्णराम न्यौपाने, ओम चौलागाई, विजयकुमार श्रेष्ठ, हरि खतिवडा र ट्राफिक प्रहरी रहेका छन् । अन्तरक्रिया टोलीले बजारमा सवारी व्यवस्थापनका लागि पुन छलफल पश्चात देखिएका समस्या उपर छलफल गरी अघि बढ्ने निर्णय समेत गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवालले फागुन १ गतेबाट फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने समेत जानकारी दिएका छन् भने, सवारी व्यवस्थापनका लागि विभिन्न सारेकारवाला निकायसँग निरन्तर छलफल गरिरहेको जानकारी दिएका थिए ।
संघका अध्यक्ष कटुवालको अध्यक्षतामा भएको अन्तरक्रियामा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारीले कानून बमोजिम आफू अघि बढिरहेको तर पनि कतिपय अवस्थामा व्यवहारिक पक्षलाई समेत ट्राफिक प्रहरीले ध्यान दिएको बताएका छन् ।
कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनालले यस भन्दा अघि ट्राफिक प्रहरीसँग गरिएको सम्झौतालाई कार्यान्वयन गरेमा सवारी व्यवस्थापनमा सघाउ पुग्ने जिकीर गरेका छन् । संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको सो छलफलबाट सवारी व्यवस्थापनको नयाँ अभ्यास सुरु हुने समेत अपेक्षा गरिएको छ । यसले हेटौँडामा बढ्दै गइरहेको ट्राफिक जाम नियन्त्रण र अटो मयुरीलाई व्यवस्थापन गर्न पनि सघाउ पुग्ने सर्वसाधारणले अपेक्षा गरेका छन् ।
कार्यक्रममा विभिन्न वस्तुगत संघ, संघका उपाध्यक्ष कृष्ण अग्रवाल, महासचिव प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष अर्याल, काव्यमणि अधिकारी, कार्यसमिति सदस्य, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
