नयाँ पत्रिकाका सम्पादक देवकोटा गोविन्द वियोगी पुरस्कारबाट सम्मानित
नयाँ पत्रिका राष्ट्रिय दैनिकका सम्पादक कृष्णज्वाला देवकोटा यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । बिहीबार आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देवकोटालाई उक्त पुरस्कार प्रदान गरेका हुन् । सम्पादक समाजले बरिष्ठ उद्योगी स्व. मोहनगोपाल खेतानको सहयोगमा स्थापना गरेको उक्त पुरस्कारको राशी २५ हजार १ रुपैयाँ रहेको छ ।
सम्पादक देवकोटाले उक्त पुरस्कार राशी नेपाल पत्रकार महासंघको कल्याणकारी कोषलाई हस्तान्तरण गरेका छन् । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई रकम हस्तान्तरण गरिएको हो ।
त्यस्तै ‘गोविन्द वियोगी बिशेष पत्रकारिता पुरस्कार’ भने नेपाल टेलिभिजनकी समाचार सम्पादक अनिता बिन्दुलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी १५ हजार १ रुपैयाँ रहेको छ । गोविन्द वियोगीको १२औँ स्मृति दिवसका सन्दर्भमा पुरस्कार तथा सम्मान वितरण गरिएको हो ।
