हेटौँडालाई ३ नम्बर प्रदेश राजधानी कसले बनायो ? सामाजिक सञ्जालमा कतै स्वागत कतै झगडा

तु खबर संवाददाता
२०७४ माघ ४, बिहीबार १०:४७
तस्बिर–गुगल

–चन्द्र घलान
मकवानपुर, ४ माघ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडालाई बनाउने निर्णयको धेरैजसो मकवानपुरवासीले स्वागत गरेका छन् । चुनावभन्दा अगाडिदेखि नै माग गर्दै आएका राजनैतिक दल र सर्वसाधारण तथा बुद्धिजीवीहरुको समूहले यसलाई सरकारको स्वागत योग्य कदम भएको जनाएको छ । निर्णयबाट खुशी हुँदै धेरै मकवानपुरे संचारकर्मी तथा सर्वसाधारणले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । कतिपय स्थानमा दिप प्रज्वलन पनि गरिएको छ ।

एकातिर हेटौँडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएकोमा खुशी व्यक्त गरिएका छन् भने कतिपयले यसलाई हतारको निर्णय भएको समेत भन्न भ्याएका छन् । त्यतिमात्र होईन सामाजिक सञ्जालमा यो निर्णय कसको कारण भयो भनेर समेत सामाजिक सञ्जालमा वादविवाद गर्न थालेका छन् ।

कसले गर्यो दबाव ?
श्रोतको आधारलाई सही मान्ने हो भने हेटौँडालाई प्रदेश राजधानी बनाउनुमा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा, प्रदेश सांसद ईन्द्रबहादुर बानियाँ र काँग्रेस नेतृ महालक्ष्मी डिना उपाध्यायको जोडका कारण हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोकिएको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा हार व्यहोरेका थापाले आफुले चुनाव अघि नै बोलेका कुरालाई पुरा नगरे जनताको विश्वास गुम्ने डर भएका कारण निर्णयको अन्तिम चरणसम्मै हेटौँडालाई नै प्रदेश राजधानी तोक्ने विषयमा अडान लिएर प्रधानमन्त्रीलाई समेत प्रभावित पारेको श्रोतको दाबी छ । उनले बानियाँ र डिनासँग पनि समन्वय गरेर विशेष प्रेसर क्रेट गरेका थिए ।

तर सामाजिक सञ्जालमा भने यसका बारेमा निकै बहस सुरु भएको छ । केही संचारकर्मी तथा स्थानीयले भने फरक मत राखेका छन् । मकवानपुरे पत्रकार तथा नेता सन्तोस न्यौपानेले माननीय बिरोध खतिवडा र बाम गठबन्धनको दवाबले हेटौँडालाई ३ नम्बर प्रदेशको राजधानी तोकेको भन्दै फेसबुक स्टाटस लेखेका छन् । उनले राप्रपा र काँग्रेसको यसमा कुनै हात नरहेको दाबी गरेका छन् ।

त्यस्तै स्थानीय सुरेन्द्र थिकेले भने काँग्रेस र राप्रपाले आफ्नो जिम्मेवारी पुरा गरेको भन्दै अब स्थायी बनाउने जिम्मेवारी एकिकृत बामको भएको भन्दै स्टाटस लेखेका छन् । मकवानपुरे खेलाडी सनमान गोलेले उपप्रधानमन्त्री कमल थापाले अडान गरेको कारण नै अस्थायी राजधानी तोकिएको भन्दै बधाई दिएका छन् ।
कतै स्वागत कतै विरोध
कतिपयले अब हेटौँडा अस्थायी प्रदेश राजधानी मात्र बन्ने स्थायी हुन नसक्ने बताएका छन् । ३ नम्बर प्रदेशमा बाम गठबन्धनको बहुमत भएकोले काँग्रेस सरकारले गरेको यो निर्णय स्थायीमा परिवर्तन हुन नसक्ने धेरैले बताएका छन् ।

त्यस्तै पत्रकार दिपक अधिकारीले हेटौँडालाई ३ नम्बर क्षेत्रको प्रदेश राजधानी तोकिएकोमा आश्चर्य लागेको भन्दै संघियता विरोधी पार्टीले जानाजान रचेको षड्यन्त्र भएको लेखेका छन् । मकवानपुरे पत्रकार शिवकुमार रिजाल काशी पनि समान विचार राख्छन् । उनले अस्थायी राजधानी घोषणाका लागि मन्त्रीपरिषदसँग गोरु बेचेको साईने पनि नभएका नेताहरुको नाम देखिएको भन्दै भुगोलको हिसाबले हेटौँडा उपयुक्त नदेखिएको तर्क राखेका छन् ।

यस सम्बन्धमा हेटौडा उपमहानगरपालिकाले भने यो निर्णयको स्वागत गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बुधबार साँझ प्रेश बिज्ञप्ती जारी गर्दै तीन नंम्बर प्रदेशको राजधानी हेटौडालाई अस्थायी रुपमा तोकेकोमा स्वागत गरेका छन् । हाल लाई अस्थाई रूपमा प्रदेशको राजधानी हेटौडा तोकिएपनि प्रदेश शभाको बैठक पछिपनि यस हेटौंडालाई स्थायी रूपमा तीन नम्बर प्रदेशको राजधानी बनाउन मेयर महतले बिज्ञप्ती मार्फत आग्रह गरेका छन् ।
केही स्थानीयहरुले भने यसको विरोध पनि गरेका छन् । हेटौँडाका स्थानीय टिका तिमल्सिनाले फेसबुकमा ३ नम्बर प्रदेशको राजधानी हेटौँडा तोकिनु भुगोलको हिसाबले अनुपयुक्त भएको कुरा लेखेका छन् । संचारकर्मी अमर लामाले निर्णयले खुशी तुल्याएको भन्दै मकवानपुरकै मान्छेले विरोध गरेको देख्दा अचम्म लागेको भन्दै स्टाटस लेखेका छन् ।

मकवानपुरमा प्रदेश राजधानी रहनुमा कतै विवाद त कतै समर्थन देखिएको छ । पहिलो प्रदेशसभाको बैठक पछि यो निर्णय उल्टिएला वा यथावत रहला त्यो भने कुर्नैपर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*