सवारी दुर्घटनामा ८ जनाको मृत्यू, १४ जना घाईते

तु खबर संवाददाता
२०७४ माघ ३, बुधबार १८:४१

काठमाडौं, ३ माघ । मुलुकका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा परि ८ जनाको मृत्यू हुनुका साथै १४ जना घाईते भएका छन् ।

काठमाडौं महानगरपालिका–३१ शंखमुलस्थित सडकमा अछा पब्लिकेशन एण्ड जि मिडिया प्रालिमा काम गर्ने बाराको निजगढका २८ वर्षीय दिपेशकुमार ठाकुरले चलाएको मोटरसाइकल गएराति अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सोही मोटरसाइकलमा सवार काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने झापाको महामाराका ३१ वर्षीय मोहन रायमाझीको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको छ ।

नवलपरासीको बिनयी त्रिबेणी गाउँपालिका–७ थटियास्थित सडकमा युपी–०५३२०–क्यू–०४२० भारतीय नम्बरप्लेटको ट्याक्टर मंगलबार सडकबाट करीब १५ फिट तल खसेर दुर्घटना हँुंदा ट्याक्टरमा सवार ३५ जनामध्ये ट्याक्टर चालक भारत गोरखपुर बस्ने ५५ वर्षीय सादु केवटको घटनास्थलमै तथा सोही ठाउँ बस्ने ६१ वर्षीय राम किशोरको स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको छ । घाइतेमध्ये ५ जनाको सोही अस्पतालमा र ७ जनाको स्वास्थ्य चौकी त्रिबेणीमा उपचार भइरहेको छ ।

मोरङको सुनबर्सी नगरपालिका–६ झपडतल चोकमा को.२९ प ३६५६ नम्बरको मोटरसाइकल मंगलबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका–८ बस्ने २१ वर्षीय दिपक कामत र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।
गोरखाको सुलिकोट गाउँपालिका–३ तामाङ टोलमा ग.१ त ५१५८ नम्बरको ट्याक्टरले सोही ठाउँ बस्ने पैदलयात्री १२ वर्षीय बिनोद तामाङलाई मंगलबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिररहेको छ ।

कपिलवस्तुको शिबराज नगरपालिका–१ सुरइ नाकामा ना.२ ख ९९६० नम्बरको ट्रकले यूपी–५५–यू–०४८१ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जनामध्ये भारतका २४ वर्षीया मुबसरा खातुनको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक सिद्दार्थनगर थाना ढेरउवा बस्ने २७ वर्षीय अतिकुल रहिमान घाइते भएकाले उपचारको लागि सञ्जिवनी अस्पताल चन्द्रौटा लगिएको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–२ थानटोलीमा को.२ प ५१४१ नम्बरको मोटरसाइकल मंगलबार अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक कानपोखरी गाउँपालिका–३ बस्ने ५० वर्षीय जितन चौधरीको रमाइलो डाइनेष्टिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

कास्कीको पोखरा लेखनाथ महानगरपालिका–२ बाग्लुङ बसपार्कमा बा.३ ख ५३०९ नम्बरको रोकी राखेको बससँग ग.११ प २७७० नम्बरको स्कुटर पछाडिबाट ठोक्किन जाँदा गम्भीर घाइते भएका स्कुटर चालक कास्कीको अन्नपुर्ण गाउँपालिका–६ काँडे बस्ने ३१ वर्षीय राजु भारतीको छोरा ३ वर्षीय आदित्य बिक्रम भारतीको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*