एकैदिन प्रतितोला ७०० रुपैयाँले घट्यो सुनको भाउ

तु खबर संवाददाता
२०८० श्रावण २५, बिहीबार १५:२६

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ घटेको जानकारी गराएको हो ।

भाउ घटेसँगै आज छापावाल सुनको भाउ तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम रहेको छ । हिजो बुधबार छापावाल सुनको भाउ तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

आज पनि तोलामा ७०० रुपैयाँले मूल्य घटेसँगै लगातार चौथो दिन सुनको मूल्य घटेको छ । साताको सोमबार १०० रुपैयाँ, मंगलबार ३०० रुपैयाँ र बुधबार १०० रुपैयाँले मूल्य घटेको हो ।

यस्तै, महासंघका अनुसार, आज चाँदीको मूल्य समेत घटेको छ । १० रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।