मकवानपुर सहकारी अस्पतालले गलत रिपोर्ट दिएपछि अस्पतालमा तनाव

तु खबर संवाददाता
२०७४ माघ ३, बुधबार १५:३१

मकवानपुर, ३ माघ । मकवानपुरको हेटौँडामा अवस्थित मकवानपुर सहकारी अस्पतालले पत्थरी भएको भन्दै गलत रिपोर्ट दिएपछि ै बिरामीका अभिभावक र अस्पतालबिच विवाद उत्पन्न भएको छ ।

गएको पुस २३ गते हेटौँडा–१० निवासी रामहरि खरेलका छोरा १५ वर्षीय ओम खरेललाई अस्पतालमा लगिएकोमा डाक्टर सुबास कुमार बनैताले उनको किड्नीमा पत्थरी भएको रिपोर्ट दिए । तर उनका अभिभावकलाई विश्वास नलागेपछि उनलाई पूनः नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो ।

मकवानपुर सहकारी अस्पताल र एनपीआई अस्पतालको रिपोर्ट

चितवनमा भने उनलाई एपेन्डीसाईट्स भएको रिपोर्ट निस्कियो । तत्पश्चात उनलाई एपेन्डीसाईट्सको अपरेशन गरेर अहिले स्वस्थ समेत भएका छन् । तर बिरामी खरेलका अभिभावकसहितको टोलीले अस्पतालसँग छलफल गर्दै अस्पतालले लापरवाही गर्न नहुने बताए । बिरामीका काका तथा नेपाली काँग्रेसका जिल्ला सदस्य राजन खरेलले अस्पताल प्रशासनले लापरवाहीको विषयमा जवाफ दिनुपर्ने भन्दै तु खबरसँग गुनासो गरे ।
अस्पतालमा विवाद भएपछि बिरामीका अभिभावकसहितको बुद्धिजीवी टोली र अस्पताल प्रशासनबिच छलफल समेत भएको छ । बिरामी खरेलको अल्ट्रासाउण्ड गरेका डाक्टरसँग फोनवार्ता समेत भएको छ । डाक्टर बनौताले मेसिनको कारण गलत रिपोर्ट आएको र आफुले लापरवाही नगरेको प्रतिक्रिया दिए ।

त्यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुगोपाल महर्जनले अस्पतालमा अत्याधुनिक अल्ट्रासाउण्ड मेसिन नभएको कारण गलत रिपोर्ट देखिएको स्विकारे । उनले गलत रिपोर्टका कारण बिरामीका अभिभावकलाई पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै अस्पतालमा अबका दिनमा त्यस्ता कार्य नहुने तु खबरसँग स्पष्ट विचार पोखे । उनले मेसिनले पूर्ण रुपमा गलत रिपोर्ट नदिएपनि केही त्रुटिका कारण त्यस्तो भएको जिकिर गरे । केही पुरानो मोडलको मेसिनका कारण यस्तो परिणाम आएको पनि उनले स्विकार गरे । अध्यक्ष महर्जनसँगको छलफलपश्चात बिरामीका अभिभावक पनि अस्पतालले आगामी दिनमा लापरवाही नगरोस् भन्ने सुझाव सहित सहमतिमा आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*