यसरी हुँदैछ मकवानपुरको कुष्माण्डमा भव्य मकर मेला
हेटौँडा, २ माघ । मकवानपुरको हेटौंडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणी धाममा माघ १ गतेबाट एक महिने मकर मेला भइरहेको छ । सोमबारबाट सुरु भएको मेलालाई आज पनि धेरै श्रद्धालु भक्तजनहरुले दर्शन गरेका छन् ।
रत्ना, कर्णा र कौशबाहीको संगम स्थलमा कुष्माण्ड सरोबर त्रिबेणीधाम बिकास समितिको आयोजनामा हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणी धाममा माघ महिनाभरका लागि मेला सुरु भएको हो । एक महिने मकर मेलामा यो बर्ष वाचन शिरोमणी बेदान्तचार्य सुभद्रा नेपाललगायत बिभिन्न गुरुहरुले कथा वाचन गरिरहेका छन् ।
मेलाको सुरुवातमा सोमबार ५ हजार बढि भक्तजनहरुले दर्शन गरेको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए । त्यसैगरी भक्तजनहरुबाट स्वतस्फूर्त रुपमा ९५ हजार नगद सहयोग प्राप्त भएको छ । मेलामा बिशेष गरी १०८ गौमुखी धारामा स्नान गर्ने भक्त जनहरुको बिषेश भिड लागेको थियो ।
माता कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त भएको सिद्ध क्षेत्र, पाण्डबहरुले श्राद्ध तर्पण गरेको, अम्बरीष राजाले भगवान बिष्णुको आज्ञाले १०८ धारामा स्नान गरी सन्तान लाभ भएको लगायत बिभिन्न रोगहरु निदान भएको धर्म शास्त्रमा उल्लेख भएअनुसार यस क्षेत्रको महत्व रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । तिनवटा नदिहरुको संगमस्थलका साथै उत्तरबाहिनी नदिका कारणपनि यस क्षेत्रमा आएर गरीने स्नान पनि बिशेष रहेको छ ।
एक महिने मकर मेलामा यस बर्ष अग्नीमहापुराण कथा प्रबचन हुनेछ । कार्यक्रम अनुसार माघ २९ गते बटुकहरुको सामुहिक ब्रतबन्ध पनि रहेको छ । त्यसैगरी प्रत्येक दिन बिहान पाठपारायण नित्य पुजा तथा कथा प्रबचन हुनेछ भने माघ २ गते औशीको दिन गंगा आरती, २८ गते लक्षवर्ती प्रज्ज्वलन, २९ गते तिलार्चन प्रसादी बितरणको कार्यक्रम रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । यसैगरी यसबर्षबाट कुष्माण्ड भगवतीको दर्शन गर्न कुष्माण्ड सरोबरमा डुंगाको समेत ब्यबस्था गरीएको अध्यक्ष न्यौपानेले बताए । मेलामा बारा, पर्सा, सर्लाही, रौतहट, चितवन, काठमाण्डौ, नबलपरासी, सिन्धुलीलगायत बिभिन्न जिल्लाहरुबाट भक्तजनहरु दर्शनार्थ आएका थिए ।
