प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट पारित
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो । मत विभाजनमा २५५ सांसद सहभागी भएका थिए । तीमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत परेको छ ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीले बजेटको पक्षमा मतदान गरेका छन् भने एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोसपाले भने विपक्षमा मतदान गरेका छन् ।
सभामुखले ध्वनि मतको आधारमा बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन लागेपछि एमालेले मत विभाजनको आधारमा प्रक्रिया अघि बढाउन सभामुखसँग माग गरेको थियो ।
त्यसअघि एमाले र रास्वपाले आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय मातहत रहने व्यवस्था रहेको भन्दै सो विषय संशोधन नगरेसम्म संसद् अघि बढाउन नदिने बताएपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो ।
त्यसपछि बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले सरकारको खर्च कटौती गर्नका लागि सो विषय राखिए पनि सरकार त्यसलाई परिमार्जन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।
गत जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब, ५१ अर्ब ३१ करोडको बजेट संसद्मा प्रस्तुत गरेको थियो ।
