सिँचाइयुक्त दुई हजार हेक्टर जमिन बाँझो

तु खबर संवाददाता
२०७४ पुष ३०, आईतवार १७:१९

–लक्ष्मीप्रसाद सापकोटा
फलेवास, पर्वत, ३० पुस ।
पर्वतमा सिँचाइ सुविधा भए पनि दुई हजार हेक्टर जमिन अझै बाँझो रहेको पाइएको छ । वर्षेनी बाँझो जमिन बढ्न थालेका कारण बाँझो नराख्ने अभियान थालिए पनि दुई हजार हेक्टर जमिन अझै बाँझो रहेको पाइएको हो । “अभियान नचलाउने हो भने बाँझो जमिन अझै बढ्दै जाने देखिन्छ”, जिल्ला कृषि विकास कार्यालयका प्रमुख वासुदेव रेग्मीले भन्नुभयो, “सबै क्षेत्रबाट बाँझो रहेको जमिनमा खेती लगाउने अभियान थाल्नुपर्छ ।” उहाँले जिल्लामा सिँचाइयुक्त दुई हजार ४०० हेक्टर जमिन बाँझो रहेको जानकारी दिनुभयो ।

“चार सय हेक्टर जमिन त घडेरी भइसक्यो, अझै दुई हजार हेक्टर जमिन बाँझै छ”, उहाँले भन्नुभयो “अहिले पर्वतमा बाँझो रहेको जमिनमा खेती लगाउन सकेमा २० हजार मान्छेलाई वर्षभरि पुग्ने अन्न उत्पादन हुन्छ, एक वर्षमा एक व्यक्तिले २०० केजी अन्न खपत गर्छ भने दुई हजार हेक्टर बाँझो खेतमा अन्न लगाउने हो भने २० हजार जनसंख्यालाई वर्षभरि खान पुग्छ । ”

जिल्लामा ५३ हजार ६८६ हेक्टर जमिनमध्ये २८ हजार ५९३ हेक्टर जमिनमा खेती लगाउन सकिन्छ तर अहिले २४ हजार १७१ जमिनमा मात्रै खेती लगाइएको छ । खेतीयोग्य जमिन भए पनि केही हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । सिँचाइ सुविधा पुगे पनि दुई हजार हेक्टर जमिन बाँझो देखिएको हो । जिल्लामा खेतभन्दा पाखो बारी बढी छ । अहिले यहाँ नौ हजार हेक्टर खेत र १५ हजार १५० हेक्टर जमिन पाखोबारी छ ।

त्यस्तै बाह्रै महिना सिँचाइ हुने जमिन छ हजार ४२१ रहेको उक्त कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले गत आवदेखि जमिन बाँझो राख्नेलाई कारबाही गर्ने नीति जिल्ला परिषद्ले पारित गरे पनि कार्यान्वयनमा आउन भने सकेको छैन । बाँझो जमिन राख्नेलाई प्रतिरोपनी रु ५० का दरले जरिवाना गर्ने निर्णय भएको थियो ।

“अब सबै खेतीयोग्य जमिनवालाले बाली लगाउने याममा बाँझो राखेबापत प्रतिरोपनी रु ५० नगरपालिका वा गाउँपालिकालाई जरिवाना तिर्नुपर्ने छ”, कार्यालय प्रमुख रेग्मीले भन्नुभयो, “बिलासिताका लागि बजारमा बस्ने र आफ्नो जमिन बाँझो राखेर आयातित खाद्यान्नमा भर पर्नेहरूका लागि यो निर्णय महत्वपूर्ण छ ।”

“खाद्यान्नमा आत्मनिर्भर गराई आयातमा कटौती गर्ने उद्देश्यले यो नीति अवलम्बन गरिए पनि पछिल्लो समय राजनीतिक उतारचढावले समस्या परेको हो । जग्गाधनीले कुनै पनि हालतमा खेती गर्न सक्ने अवस्था नभए नजिकको छिमेकी वा खेती गर्न इच्छुक जो कोहीलाई पनि बाली लगाउन दिनुपर्नेछ ।

यता जमिन बाँझो रहँदा खाद्यान्नमा परनिर्भर हुनुपरेको भन्दै पर्वत उद्योग वाणिज्य संघले समेत सो अभियान चलाएको छ । “हामीले विभिन्न ठाउँमा पुगेर बाँझो जमिनमा खेती लगाउन सचेतनामूलक अभियान चलाएका छौँ”, संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले भन्नुभयो ।
सुन्तला उत्पादन वृद्धि

जिल्लाको मुख्य निर्यातजन्य वस्तुका रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा गत वर्षभन्दा सात प्रतिशतले वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यलयका अनुसार जिल्लामा गत वर्ष दुई हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष ४०० मेट्रिक टन सुन्तला बढी उत्पादन भएको हो ।

जिल्लामा झण्डै ७०० हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । किसानले मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गर्नुका साथै यसवर्ष हावाहुरी र असिना नपरेका कारण सुन्तला उत्पादनमा वृद्धि भएको उहाँले बताउनुभयो ।

गत वर्ष भने पर्वतमा पाँच प्रतिशतले उत्पादन घटेको थियो । असिनाका कारण गत वर्ष उत्पादन घटे पनि यस वर्ष भने वृद्धि भएको रेग्मीले बताउनुभयो । पछिल्लो समय कार्यालयले किसानलाई बिरुवा, विभिन्न औषधि र मलसमेत सहयोग गर्दै आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाअन्तर्गतका माझफाँट र बाँसखर्कलाई ब्लक तथा जलजलाको लेकफाँट, शालीजा, कुश्मा नगरपालिकाको दुर्लुङ मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशिला गाउँपाकिलाको भोक्सिङ, होश्राङ्दी, पैंयु गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, विहादी गाउँपालिकाको पाङ्ग्राङ र फलेवास नगरपालिकाको कुर्घा, लिमीठाना र ठानामौलालगायतका क्षेत्रलाई सुन्तला उत्पादनका पकेट क्षेत्र घोषणा गरिएको छ ।

जिल्लामा सबैभन्दा बढी बाँसखर्कमा झण्डै रु चार करोड बराबरको सुन्तला उत्पादन भएको छ भने मोदी गाउँपालिका–२ देउपुरमा रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । यी दुईवटै गाउँको मुख्य पेशा नै सुन्तला बनेको छ । जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तुमा सुन्तला नै परेको छ । अन्य वस्तुको तुलनामा यहाँबाट सुन्तला बढी मात्रामा बाह्य जिल्लामा निर्यात हुन थालेको कार्यालयले जनाएको छ ।

यहाँको सुन्तला पोखरा हुँदै चितवन, काठमाडौँ, काँकडभिट्टा, बुटवललगायतका शहरमा निर्यात हुँदै आएको छ । कृषकको बोटमै सुन्तला खरिद गर्न व्यापारी आउने भएका कारण सुन्तलाका लागि बजारको समस्या नभएको देउपुरका कृषक दाताराम चापागार्इंले बताउनुभयो । – (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*