मकवानपुरका ७ स्थानीय तहले आज बजेट ल्याउँदै

तु खबर संवाददाता
२०८० असार १०, आईतवार १४:१९
file-photo

मकवानपुर । मकवानपुरका सात स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि आज बजेट ल्याउँदै छन् । यसअघि ३ वटा स्थानीय तहले भने बजेट सार्वजनिक गरिसकेका छन् ।

मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाले आज बजेट ल्याउन लागेका हुन् ।

आज पालिकाहरुले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ । असार मसान्तसम्म पालिकाहरुले बजेट पारित गरिसक्नुपर्छ ।

यसअघि मकवानपुरको हेटौंडा उपमहानगरपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाले बजेट ल्याइसकेका छन् । अब बजेट पारित हुन बाँकी रहेको छ । आफ्ना पालिकाको सभामा छलफल गरेर बजेट पारित गर्ने तयारी रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्छ ।

मकवानपुरमा बजेट ल्याइसकेका पालिका र आज बजेट ल्याउँदै गरेका पालिकाहरुले भौतिक पूर्वाधार निर्माणमा सडक, नाली, पुल, खानेपानी, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बजेटमा समेटेका छन् ।