डा केसीले अनशन तोडे

तु खबर संवाददाता
२०७४ पुष २९, शनिबार ११:५७

काठमाडौँ, २९ पुस । सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति भएपछि अनशनरत डा गोविन्द केसीले आज बिहान १० बजे अनशन तोडेका छन् ।

पच्चीस वर्षदेखि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने नथुनिया मोचीको हातबाट जुस पिएर डा केसीले अनशन तोडेका हुन् ।

उनले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो लडाइँ सधैँ जारी रहने बताए । स्वास्थ्यमन्त्री दीपक बोहरा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वणिम वाग्ले सम्मिलित टोली र डा केसीका पक्षका अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह, डा सुमन आचार्यको टोलीले वार्ता गरी पाँच बुँदे सहमति गरेको थियो ।

डा केसीका सहयोगी डा अभिषेकराज सिंहले डां केसीले चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, सर्वोच्च अदालतको आदेशअनुसार आइओएमका डीनमा प्राडा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिनेलगायत पाँचबुँदे सहमति भएको जानकारी दिए ।

गत आइतबार सर्वोच्च अदालतले आइओएमका डीनमा चार वर्षअघि बर्खास्त भएका प्रा डा शशी शर्मालाई चार दिनका लागि पुनर्बहाली गरेसँगै डा केसीले न्यायसंगत नभएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसहित सोमबारदेखि आमरण अनशन शुरू गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*