पत्रकार नेगीलाई थाहा पत्रकारिता पुरस्कार

तु खबर संवाददाता
२०७४ पुष २६, बुधबार २१:०७

थाहानगर, २६ पुस । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरका युवाहरुको समूह फरक सोच अभियानले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता तर्फको पुरस्कार यस वर्ष थाहा नगरमा बसेर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार कुमार नेगीलाई प्रदान गरिएको छ ।

स्व. रुपचन्द्र विष्टको ८४ औं जन्म जयन्तीको अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच पत्रकार नेगीलाई नगद १० हजार रुपैयासहित उक्त पुरस्कार प्रदान गरिएको हो । अघिल्ला वर्षहरुमा तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मानको रुपमा संचार क्षेत्रमा क्रियाशील मकवानपुरे पत्रकारलाई सम्मान–पत्र प्रदान गर्दै आएकोमा यस वर्षदेखि थाहा पत्रकारिता पुरस्कारको रुपमा उक्त सम्मान प्रदान गरिएको फरक सोचका प्रमुख यादवजंग रायमाझीले बताए ।

थाहानगरमै बसेर पत्रकारिता गरी पुरस्कार पाउनेमा नेगी पहिलो हुन् । उनी हाल थाहानगरबाट प्रकाशित हुने शान्तिपुर दैनिकका प्रकाशक एवम् सम्पादक हुन् । दक्षिण एसियाकै पहिलो अडियो टावरदेखि रेडियोसम्म र भित्तेपत्रिकादेखि राष्ट्रिय दैनिकसम्म विभिन्न पदमा रही काम गरेको भन्दै नेगीलाई थाहा पत्रकारिता पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक जयन्ती रायमाझीले बताइन् ।

२२ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील नेगी विगत १५ वर्षदेखि राजधानी दैनिकको मकवानपुर सम्वाददातासमेत रहेका छन् । उनी तामाङ समुदायबाट नेपालको सामुदायिक रेडियोका पहिलो स्टेशन म्यानेजर हुन् भने मकवानपुरको दैनिक पत्रिकाको समेत पहिलो तामाङ सम्पादक हुन् । सामुदायिक संचार केन्द्रले संचालन गरेको दक्षिण एसियाकै पहिलो अडियो टावरमा उनी २०५५ सालमा कार्यक्रम संयोजक थिए । उनी उत्तरी मकवानपुरबाट प्रकाशित हुने क श्रेणीको विकास खबर साप्ताहिकको सम्पादक र विकासखबर डटकमको प्रधान सम्पादकसमेत रहेका छन् ।

थाहानगरको विकास घरमा आयोजित एक समारोहबीच नेगीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम संयोजक जयन्ती रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मकवानपुर–२ का प्रतिनिधि सभा साँसद विरोध खतिवडाले नगद, सम्मान–पत्र र दोसल्लासहित नेगीलाई पुरस्कार प्रदान गरेका थिए ।

नेगीसँगै लामो समयदेखि निजी श्रोत शिक्षकको रुपमा कार्यरत नरेन्द्र सिंहलाई सम्मान गरिएको थियो । त्यस्तै संघीय नेपालको पहिलो जननिर्वाचित थाहा नगरका प्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग गोपालीलाई नागरिक अभिनन्दन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*