हेटौंडा सवारी दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन २४, बुधबार १७:२०
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ हटियास्थित कठायत चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परेर थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक नुवाकोट ककनी नगरपालिका–४ की अन्दाजी २८ वर्षीया जीना लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएकी लामाका चितवनको पुरानो मेडिकल कजेल भरतपुरमा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको हो ।

यससँगै उक्त दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दुई जना पुगेको छ । यसअघि मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ भालुखोला बस्ने १८ वर्षीय अर्जुन भोम्जन मृत्यु भएको थियो । दुर्घटनामा परेर घाइते भएका भोम्जनलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलको पछाडी सवार हेटौंडा–१८ रामधुनीका १६ वर्षीय सुजन घलान र स्कुटर पछाडी सवार बागमती–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापा मगर घाइते भएका छन् । घाइतेमध्ये घलानको हेटौंडाको हेटौडा सरकारी अस्पताल र मगरको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइहेको जनाइएको छ ।

बिहान ११ः०५ बजेको समयमा हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।