हेटौंडामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ हटियास्थित कठायत चोकमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ११ः०५ बजेको समयमा हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ भालुखोला बस्ने १८ वर्षीय अर्जुन भोम्जन रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौडा सरकारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै, उक्त दुर्घटनामा मोटरसाइकलको पछाडी सवार हेटौंडा–१८ रामधुनीका १६ वर्षीय सुजन घलान, स्कुटर चालक नुवाकोट ककनी नगरपालिका–४ की अन्दाजी २८ वर्षीया जीना लामा र बागमती–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापा मगर घाइते भएका छन् ।
घाइतेमध्ये घलानको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने अन्य दुई जनालाई थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।
