स्ववियु चुनावका लागि देशभरका क्याम्पसमा समिति गठन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि देशभरीका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ ।
आगामी चैत ५ गते हुने निर्वाचनका देशभरीका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
उनका अनुसार, प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ । उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ । त्रिविका सबै आङ्गिक क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख रहने व्यवस्था छ ।
यसअघि त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकेको छ ।
आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनको लागि कार्यतालिका समेत सार्वजनिक भइसकेको छ ।
कार्यतालिका अनुसार, यही फागुन १९ गते विद्यार्थी सङ्घ/सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै, कार्यतालिकाअनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान तोकिएको छ ।
