बसको ठक्करबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन १०, बुधबार १०:२३

विराटनगर । मोरङको बेलबारीमा आज बिहान यात्रुबहाक बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार, पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा बिहान ६ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना परेर साइकल यात्री चौहान गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, उक्त दुर्घटनामा परेर साइकलमा सवार अर्का एक जना घाइते भएका छन् । बसको ठक्करबाट अर्को साइकलका यात्री बेलबारी–२ का १८ वर्षीय राम बस्नेत घाइते भएका छन् । बस्नेतको उपचार भइरहेको छ ।

बससहित चालक स्याङ्जाको आँधी खोला गाउँपालिका–२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।