दुर्घटनामा परेर तीन जनाको मृत्यु
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१२ मा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बट्टारबाट धान्से जाँदै गरेको बा २ ख ८४५३ नम्वरको बस चैनपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर दुई जना पुरुष र एक महिनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा विदुर–३ घर भएका ७३ वर्षीय बाबुराम नेपाली र विदुर–६ घर भएका ६८ वर्षीय रामप्रसाद अर्याल रहेका छन् । अर्का एक जनाको भने पहिचान खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा परेर दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा परेर २३ जना घाइते भएका छन् ।
