मकवानपुरे मारवाडी युवाहरुले मनाए ‘मारवाडी युवा दिवस’
मकवानपुर, २० पुस । हरेक वर्ष जनवरी ३ का दिन मनाइदै आइएको मारवाडी युवा दिवस बुधबार हेटौंडामा पनि मनाइएको छ । मारवाडी युवा मञ्च हेटौंडाले हेटौंडा–२ चौकीटोलमा रहेको ओम वृद्धाश्रममा खाद्यान्न वितरण गरी दिवस मनाएको हो ।
आश्रममा चामल, दाल, पीठो, आलु, मसलालगायतका खाद्यान्न सामाग्री वितरण गरिएको हो । मञ्च हेटौंडाका अध्यक्ष तथा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा मारवाडी एशोसियसन मकवानपुरका अध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ओम वृद्धाश्रमका अध्यक्ष वुद्धिप्रसाद पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो । खाद्यान्न वितरण कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष अजय अग्रवाल, मञ्चका सल्लाहकार अनिल अग्रवाल, मारवाडी एशोसियसन हेटौंडाका सल्लाहकार दीपचन्द्र अग्रवाल, महिला मञ्चकी उपाध्यक्ष स्नेहा चनानी, तथा कार्यसमितिका पदाधिकारीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सम्पूर्ण मारवाडी युवा मञ्चका सदस्यको सहभागिता रहेको थियो ।
मारवाडी युवा मञ्चका महासचिव तथा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सदस्य चिराग अग्रवालले कार्यक्रममा सहजीकरण गरेका थिए । कार्यसमिति सदस्य निखिलकुमार अग्रवालको संयोजकत्वमा खाद्यान्न वितरण कार्यक्रम भएको थियो ।
