खोला खन्दा जिम्मेवार हुनुपर्ने धारणा
मकवानपुर / मकवानपुरमा खोला उत्खनन् गर्दा सबैपक्ष जवाफदेही र जिम्मेवारभएर मात्र गरिनुपर्ने आज हेटौडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मकवानपुरका खोला उत्खनन्का बिषयमा गरिएको सर्बपक्षिय छलफलका क्रममा खोलामा अबैध रुपमा उत्खनन् नगरिकन यसलाई व्यवस्थित बनाउनुपर्नेमा सबैले सुझाब दिएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले खोला उत्खनन् गर्नका लागि सबैको समन्वय र सुझाब आएकाले त्यस अनुसार गर्नका लागि नै यो कार्यक्रम गरिएको बताउनुभयो । ढुङगा, गिट्टी र बालुवाको उत्खनन् गरेर नबिकरण नभएका क्रसर उद्योगलाई नदिन पनि सहभागिहरुले सुझाब दिएका छन् । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले खोला उत्खनन् व्यवस्थित हुनुपर्ने र रातो नंम्बर प्लेटका ट्याक्टर कृर्षि प्रयोजनका लागि आएकाले यसमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा ढुङगा, गिट्टी र बालुवाको ठेक्का पाएको निर्माण व्यवसायी र क्रसर उद्योगिहरुले भने निर्बाध रुपमा आईई गरिएका क्षेत्रमा उत्खनन् गर्न पाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीले खोला उत्खनन् व्यवस्थित नभए मकवानपुरमा भयाबह स्थिती आउने बताउनुभयो । कार्यक्रममा स्थानिय विकास अधिकारी नारायण प्रसाद मैनाली, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीपराज झा, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, राक्सीराङ गाउपालिका अध्यक्ष राजकुमार मल्ल लगायतकाले जथाभावि उत्खनन् नगरिकन यसलाई व्यवस्थित हुनुपर्ने बताएका छन् । कार्यक्रममा मकवानपुरका विभिन्न राजनीतिकदलहरु, तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
