‘महिनामा एकदिन ट्राफिक व्यवस्थापनलाई’
रत्ननगर, , १९ पुस । चालक होस् या बटुवा, बढी दुर्घटना दुबै पक्षको लापरबाहीका कारण हुने गरेको प्रहरीको तथ्यांकले देखाएकाले चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले समुदायसँग मिलेर ट्राफिक व्यवस्थापन शुरु गरेको छ । समुदायसँग मिलेर ‘महिनामा एक दिन ट्राफिक व्यवस्थापनलाई’ भन्ने अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।
समुदायलाई दैनिकरुपमा सहभागी गराउन पाए सचेतना बढ्न सक्छ भन्ने उद्देश्यले यो कार्यक्रम शुरु गरिएको उहाँले बताउनुभयो ।
उक्त अभियानमा हरेक दिन एउटा संस्थालाई सहभागी गराइन्छ । यसरी महिनाको ३० दिन नै फरक फरक संघसंस्थासँग मिलेर प्रहरीले ट्राफिक सचेतना कार्यक्रम चलाउँदै आएको र आज बिहान नेपालमैत्री समाजसँग मिलेर ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।
‘दुर्घटनालाई लगाउँ ताला’, ‘जप्दै हिँडौँ सुरक्षाको माला’, ‘मापसे गरेर सवारी साधन नचलाऔँ’, ‘हर्न नबजाऔँ’, ‘ध्वनि प्रदूषणबाट बचौँ र बचाऔँ’, ‘कम गति जीवन रक्षा’लगायतका नारासहित भरतपुरको नहरचोकमा आज बिहान उक्त सचेतना कार्यक्रम भएको थियो ।

चितवनको भरतपुरमा बुधबार ट्राफिक सचेतना कार्यक्रममा सहभागी नेपालमैत्री समाजका प्रतिनिधिका साथमा स्थानियवासी । यहाँ ट्राफिक प्रहरीले हरेक दिन सचेतना कार्यक्रम गर्दै आएको छ । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
समाजका अध्यक्ष वीरेन्द्र पौडेलले सवारी नियमको पालनका लागि जनचेतना दिन प्रहरीसँग मिलेर कार्यक्रम गर्ने गरिएको बताउनुभयो ।
यसअघि मंगलबार ट्राफिक प्रहरीले बेटर चितवन नामको संस्थासँग मिलेर सचेतना कार्यक्रम गरेको थियो भने भोलि पारिजात महिला समूहसँग मिलेर सो कार्यक्रम गरिने भएको छ ।
“अरुका लागि महिनामा एकदिन, हामी प्रहरीका लागि ३६५ दिन नै ट्राफिक सचेतनाका लागि हो, प्रहरी निरीक्षक पन्तले भन्नुभयो ।” उक्त कार्यक्रम वे ग्रुप, लायन्स, रोट्राक्ट, रोटरी क्लब, सामर्थ नेपाल, आमा समूह, महिला समूहलगायत संघसंस्थाको सहकार्यमा दैनिकरुपमा हुने गरेको छ ।

चितवनको भरतपुरमा बुधबार ट्राफिक सचेतना कार्यक्रममा सहभागी नेपालमैत्री समाजका प्रतिनिधिका साथमा स्थानियवासी । यहाँ ट्राफिक प्रहरीले हरेक दिन सचेतना कार्यक्रम गर्दै आएको छ । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
ट्राफिक प्रहरीका अनुसार चितवनमा नियमित सचेतनामूलक कार्यक्रम भइरहेको भए पनि नियम उल्लंघन र कारबाहीको क्रम भने न्यूनीकरण हुन सकेको छैन । मासिकरुपमा करिब पाँच हजार सवारी साधनलाई कारबाही हुने गरेको र त्यसबाट रु २५ देखि ३० लाख राजश्व संकलन हुने गरेको उहाँले बताउनुभयो ।
प्रहरी निरीक्षक पन्तका अनुसार चालू आवको अहिलेसम्म नियम उल्लंघन गर्ने सवारी साधनलाई गरिएको कारबाहीबाट कूल रु एक करोड १३ लाख राजश्व संकलन भइसकेको छ ।-
