मकवानपुरेको लागि प्रदेश राजधानी ‘आयो आयो फुस्सा’
मकवानपुर, १९ पुस । मकवानपुरे नागरिकले ३ नम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौंडा हुने आसा राखेका थिए । प्रदेशको राजधानी बनाउनका लागि यहाँ नागरिक दबाब समूह पनि सक्रिय छ । तर, सरकारले हिजोमात्र प्रस्ताव गरेको प्रदेश राजधानीमा ३ नम्बर प्रदेश राजधानी भक्तपुर उल्लेख छ ।
अब त्यसो भए मकवानपुर प्रदेशको राजधानी हुन्न त ? सबैको मनमा यो प्रश्न छ । तर, यसको जवाफ त्यति सजिलो छैन । नेपाली काँग्रेसको सरकार रहेको बेला प्रदेश राजधानी भक्तपुर प्रस्ताव गरिएको छ । मकवानपुरको हेटौंडालाई प्रदेश राजधानी बनाउन आफ्नो तर्फबाट प्रयत्नहरु भइरहेको एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलको भनाइ छ । सिग्देलका अनुसार, मकवानपुर सबै किसिमले प्रदेश राजधानी उपयुक्त छ । यसको निम्ति केन्द्रीय स्तरमा पनि कुराकानी भइरहेको छ ।

तस्बिर–गुगल
माओवादी केन्द्र मकवानपुरका नेता प्रलोक पाण्डेले अहिलेका जिल्लाहरुको अवस्थिति हेर्दा मकवानपुर प्रदेशको राजधानी हुने छाँट छ्रैन । आफूहरुले राजधानी माग गर्न पाउने भएपनि अन्य जिल्ला यसमा सहमत नहुने उनको भनाइछ । प्रदेशको केन्द्रविन्दु रहनुपर्ने भएकोले यस्तो अवस्था आएको पाण्डेले बताए । हिजोको जिल्लाहरुको केन्द्र भाग मकवानपुर थियो, जसका कारण क्षेत्रीय स्तरका कार्यालयहरु यहाँ रहे, तर आज त्यस्तो अवस्था छैन, उनले भने ।
हेटौंडालाई प्रदेशको राजधानी बनाउन दबाब सिर्जना गर्न नागरिक अभियक्ताहरु पनि कम्मर कसेरै लागेका छन् । उनीहरुले आफ्ना तर्फबाट पहल पनि गरेका छन् । तर, त्यति पहल मात्र प्रयाप्त देखिएको छैन ।
यहाँ रहेको मध्य पृतना, प्रदेश स्तरको प्रहरी कार्यालय तथा अन्य विभिन्न क्षेत्रीय कार्यालयहरुका कारण हेटौंडा प्रदेश राजधानी हुँदा स्रोतहरु प्रयाप्त हुने धारणा अधिकांशको छ । तर, १३ जिल्लाको पायक पर्ने अवस्थितिलाई हेर्दा हेटौंडा प्रदेश राजधानी हुन नसक्ने निश्कर्षमा सरकारी संयन्त्र पनि पुगेको हो । अब प्रदेशसभा कार्यान्वयनमा आएपछि फेरि यो एजेण्डा एक पटक तात्ने देखिएको छ ।
