चार समूहबिचको पर्यटन र सवारी साधनका विषयमा अभिमुखिकरण

तु खबर संवाददाता
२०७४ पुष १८, मंगलवार १७:१२

काठमाडौं, १८ पुस । नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, पर्यटक सवारी चालक र पर्यटनसँग सरोकारवाला निकायबीच पर्यटन र सवारी साधनका विषयमा पर्यटन बोर्ड भृकुटीमण्डपमा मंगलबार अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटन व्यवसाय विस्तार र विकास गरी राष्ट्रलाई समृद्ध बनाउनु सबैको दायित्व भएको चर्चा गर्दै पर्यटन सेवाको सम्मानित पेशामा रहेका चालकले पेशालाई अझै मर्यादित र सम्मानयोग्य बनाउन स्वअनुशासनमा रही ट्राफिक नियम पालना गर्ने प्रवृत्तिमा परिवर्तन ल्याउनुपर्ने उल्लेख गर्नुभयो । उपत्यकामा हर्न निषेध, ठमेल तथा पशुपति क्षेत्रमा सवारी साधन निषेध गर्ने जस्ता अभियान सवारी चालकको सहयोगले सम्भव भएको उनले बताए ।

साथै उनले पर्यटक प्रहरीतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी नायब निरीक्षक महेन्द्रराज गिरी, प्रहरी हवल्दार मोहन खतिवडा, प्रहरी जवानद्वय अनिल थापा र जिवन श्रेष्ठलाई कदरपत्र प्रदान गरे ।

उक्त अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले ट्याक्सी चालकहरुले पर्यटकलाई भाडादरमा समानता कायम गर्नुको साथै मर्यादित शब्द प्रयोगमा ल्याए मात्र पनि नेपालको बारेमा विश्वभर राम्रो सन्देश जाने चर्चा गरे । साथै उनले पर्यटकका छुटेका सामान फिर्ता गरी उदाहरणीय कार्य गर्ने ट्याक्सी चालक प्रवीण मगर तथा अनिल हमाल र पर्यटक तथा पर्यटक प्रहरीलाई सहयोग गर्दै आएका दिपांकर खनाललाई सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा पर्यटक प्रहरीको काम, कर्तव्य, अधिकार, उद्देश्य तथा ट्याक्सी व्यावसायीको जिम्मेवारी र अधिकारको बारेमा प्रस्तुतिकरण एवम् छलफल समेत गरिएको थियो ।

पर्यटक प्रहरी इकाईका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा यातायात मजदुर व्यवसायीका प्रतिनिधिहरु, पर्यटक तथा सार्वजनिक ट्याक्सी चालकहरुको समेत सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*