विषादीको प्रयोगले मित्रजीव नाश
काठमाडौँ, १७ पुस । भिण्डी, अकबरे खुर्सानी र हिउँदे सिमीमा अधिक विषादीको प्रयोग भेटिएको छ ।
त्यसो त गत वर्षभन्दा यस वर्ष रु पाँच करोडले बढी विषादी आयात भएको छ । गत वर्ष रु ६४ करोडको विषादी आयात भएकोमा यस वर्ष रु ६९ करोडको विभिन्न थरिका विषादी आयात भएको हो ।
विभिन्न नाका भएर राजधानी भित्र्दै गर्दा उक्त तरकारीमा ४५ प्रतिशतभन्दा माथि विषादीको प्रयोग परीक्षणबाट पुष्टि भएको बाली संरक्षण निर्देशनालयले जनाएको छ । खेतीपातीमा प्रयोग गरिने सबै प्रकारका रासायनिक विषादी विष हुन् । सो विषबाट जोगिन तरकारीलाई कम्तीमा ३० मिनेट नुनपानीमा डुबाएर मात्र पकाउन बालीविज्ञले सुझाव दिएका छन् ।
रासायनिक विषादीको प्रयोगका कारण गर्भवती महिला र बालबालिकामा पहिलो प्रभाव देखिन्छ । गर्भवती महिलाको पेटमा रहेको बच्चा अपांग र नपुंसक जन्मनु, महिलाको पाठेघर सुक्न गई बाँझोपन देखिनु र जन्मिसकेका बालबालिकापछि सुस्तःमनस्थितिको हुनु विषादीको प्रमुख असर हो ।
डाक्टर गेहेन्द्र वैद्य विषादीका अन्य कारण मानिस मुर्छा पर्नु, झाडा, पखाला, कम्पन, दृष्टी कमजोर तथा मृत्युसम्म ल्याउँछ भने लामो समयपछि देखिने असरमा अन्धोपना, क्यान्सर, ट्युमर, नपंसक, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अंगमा असर, नशासम्बन्धी समस्या ल्याउने गर्छ भन्नुहुन्छ ।
रासस
